Sat. Oct 19th, 2024

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि प्रहरीद्वारा अनुसन्धान सुरु

काठमाण्डौं, २०७९ भदौं ६ गते सोमबार । पाकिस्तानको प्रहरीले त्यहाँका पूर्व प्रधानमन्त्री इमरान खानमाथि अनुसन्धान सुरु गरेको छ। शनिवार एक राजनीतिक मन्तव्य दिएपछि उहाँ विरुद्ध प्रहरी र न्यायपालिकालाई धम्काएको आरोप लागेको छ।

यी पूर्व शीर्ष नेताका समर्थकहरू उहाँको घर बाहिर जम्मा भएका छन् र उहाँ गिरफ्तारीमा परेको खण्डमा आफूहरूले परिस्थिति “नियन्त्रणमा लिने” बताएपछि देशमा तनाव चुलिएको छ।

गत एप्रिलमा सत्ताच्युत भएदेखि खान सरकार सेनाको प्रमुख आलोचक बनेको छन्।

क्रिकेट खेलाडीबाट राजनीतिज्ञ बन्नु भएका खानले आफू निकट सहयोगीलाई यातना दिएको आरोप लागेपछि प्रहरीले उहाँमाथि अनुसन्धान सुरु गरेको हो। यद्यपि, ती सहयोगी स्वयं देशद्रोहको आरोपमा हाल हिरासतमा छन्।

शनिवार दिएको सार्वजनिक मन्तव्यमा खानले आफ्नो पार्टी सहकर्मीलाई हिरासतमा राखेको र दुर्व्यवहार गरेकोबारे इस्लामावादका प्रहरी प्रमुख र एक महिला न्यायाधीशको आरोपको खण्डन गर्नुभयो।
“तिमीहरू पनि तयार रहनु। हामी तिमीहरू विरुद्ध पनि कारबाही गर्छौँ,” उहाँले भाषणको क्रममा उनीहरू दुवैलाई चेतावनी दिनुभयो ।

प्रहरी अनुसन्धानकर्ताहरूका अनुसार खानले राज्यका अधिकारीहरू विरुद्ध धम्की दिएको आरोपलाई आधार मान्ने हो भने उहाँले देशको आतङ्कवाद विरोधी कानुन उल्लङ्घन भएको हुन सक्छ।

प्रहरीले उहाँ विरुद्ध अनुसन्धान सुरु गरेको खबर सार्वजनिक भएपछि पूर्व प्रधानमन्त्री खानका सयौँ समर्थकहरू इस्लामावादस्थित उहाँको निवासबाहिर भेला भए र यदि उहाँलाई पक्राउ गर्ने कोसिस भएमा राजधानी “नियन्त्रणमा लिने” बताए।

त्यहाँ उपस्थित प्रहरीले भने आफूहरू खानलाई पक्राउ गर्न नभइ शान्ति तथा सुरक्षा व्यवस्थापनका लागि त्यहाँ खटिएको बताए।

एप्रिलमा अविश्वासको मतमार्फत् खानलाई सत्ताबाट हटाएपछि पाकिस्तानी सरकार र खानबीच चुलिएको तनावबीच यो अनुसन्धान अघि बढेको हो। बीबीसी

Facebook Comments