Sat. Oct 19th, 2024

सांसद गिरीको पशुपति आर्यघाटमा अन्त्येष्टि

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं ५ गते आईतबार । नेपाली कांग्रेसका बौद्धिक नेता तथा सांसद प्रदीप गिरीको पशुपति-आर्यघाटमा हिन्दू परम्परा अनुसार आज अन्त्येष्टि गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय गिरीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान एवं अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

यसैगरी पशुपति आर्यघाटमा नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि स्वर्गीय गिरी प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

सभामुख अग्नि सापकोटा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजावादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापालगायतले गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । त्यसैगरी मन्त्रीहरू, उच्चपदस्थ व्यक्ति एवं विभिन्न दलका शीर्ष नेताहरू सानेपा पुगेर गिरीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

नेपाल प्रहरीको एक टुकडीले स्व. गिरीप्रति सलामी अर्पण गरेको थियो भने उहाँका छोरा सन्तोष गिरीले दागबत्ती दिनुभएको थियो । लामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित ७४ वर्षीय गिरीको गएराति निधन भएको थियो । गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्नका लागि यसअघि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।

स्व. गिरीका श्रीमती र एक छोरा हुनुहुन्छ ।

Facebook Comments