Fri. Apr 19th, 2024

पर्यटक वृद्धिदरमा नेपाल एसियामै पहिलो

काठमाडौँ, असोज ३०  । पर्यटक आगमन वृद्धिदरको हिसाबले नेपाल एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा परेको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले सार्वजनिक गरेको यस क्षेत्रको अन्तर्रा्ष्ट्रिय पर्यटक आगमनसम्बन्धी तथ्याङ्कअनुसार सन् २०१८ मा यस्तो वृद्धिदरमा नेपाल सबैभन्दा अगाडि रहेको हो ।
पाटाका अनुसार उक्त वर्ष नेपालको पर्यटक आगमन वृद्धिदर २४.८ प्रतिशत पुगेको छ । नेपालपछि रहेको टर्कीमा २१.८ प्रतिशतको वृद्धिदर छ । त्यस्तै तेस्रो स्थानमा रहेको भियतनामको १९.९ प्रतिशत, चौथो स्थानको निकारागुआको १७.५ प्रतिशत र पाँचौँ स्थानमा परेको दक्षिण कोरियाको १५.५ प्रतिशत वृद्धिदर छ ।
पाटाका अनुसार सन् २०१८ मा यस क्षेत्रका ४६ देशमा ७० करोड ८० लाख विदेशी पर्यटकले भ्रमण गरेका छन् । यो संख्या अहिलेसम्मकै उच्च हो । त्यस्तै सन् २०१७ को तुलनामा ७.३ प्रतिशतले बढी पनि हो ।

प्रतिवेदनमा समेटिएका देशमध्ये २४ प्रतिशत देशको वृद्धिदर १० प्रतिशतभन्दा माथि छ । ६५ प्रतिशत देशको भने पाँच प्रतिशतभन्दा माथि वृद्धिदर रहेको उल्लेख छ । नेपालले सन् २०१८ मा ११ लाख ७३ हजार विदेशी पर्यटकको स्वागत गरेको थियो । १० लाख पर्यटक भित्रियाउने वर्षाैंको लक्ष्य नेपालले सोही वर्ष पूरा गरेको थियो ।
सन् २०१७ मा नेपाल भित्रिने पर्यटक संख्या नौ लाख ४० हजार थियो । त्यस्तै सन् २०१६ मा सात लाख ५३ हजार पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन विभागको तथ्याङ्क छ । सन् २०१६ र २०१७ को तुलनात्मक पर्यटक सङ्ख्याको वृद्धिदर पनि करिब २५ प्रतिशत नै थियो ।

नेपालले लगातार दुई वर्ष पर्यटक आगमनमा करिब २५ प्रतिशतकै वृद्धिदर हासिल गर्न सफल भएको हो । सन् २०१९ को अगस्टसम्म सात लाख ४२ हजार छ सय पर्यटकले नेपाल भ्रमण गरेको अध्यागमन विभागको तथ्याङ्क छ । नेपालले सन् २०२० लाई भ्रमण वर्ष नै घोषणा गरी २० लाख पर्यटक भित्रियाउने तयारी गरेको छ । यसका लागि छुट्टै सचिवालय नै स्थापना गरेर तयारीको प्रक्रिया अगाडि बढाइएको छ । भ्रमण वर्ष नै लक्षित गरेर भैरहवामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने कामलाई तीव्र पारिएको छ ।

सरकारले २० लाख पर्यटक भित्रियाउन सामाजिक सञ्जालमा आधिकारिक लोगो प्रयोगदेखि विदेशमा रहेका नेपालीलाई त्यहाँका पर्यटक नेपाल पठाउने पहल गर्नसमेत आग्रह गरेको छ । पाटाको प्रतिवेदनमा उल्लिखित वृद्धिदरले नेपालको पर्यटन क्षेत्रमा केही न केही राम्रो भएको छ भन्ने सन्देश दिएको पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश बुडाल बताउनुहुन्छ । भूकम्पपछि निकै कमजोर स्थितिमा रहेको नेपालको पर्यटन क्षेत्रको पछिल्ला वर्षको वृद्धिदरले सन् २०२० मा २० लाख पर्यटक भित्रियाउन सम्भव छ भन्ने अनुमान गर्न सकिने उहाँको भनाइ छ । “हाम्रो होटलको क्षमता हेरेर पर्यटक आगमनको संख्या दङ्गै पर्नुपर्ने स्थितिमा त होइन,” उहाँले भन्नुभयो, “यद्यपि यो वृद्धिदरले नेपालबारे विश्वमै सकारात्मक सन्देश भने दिनसक्छ ।” पाटाकै प्रतिवेदनअनुसार पर्यटक संख्यामा वृद्धिको हिसाबले मात्रै चीन अगाडि रहेको छ । चीनमा सन् २०१८ मा ७७ लाख बढी नयाँ पर्यटकले भ्रमण गरेका छन् ।

त्यसपछि टर्की, हङकङ, मकाउ र थाइल्यान्ड क्रमशः दोस्रोदेखि पाँचौँ स्थानमा छन् । सन् १९५१ मा स्थापना भएको पाटा एसिया प्रशान्त क्षेत्रको पर्यटन विकास र संरक्षणमा सक्रिय छ । गोरखापत्र अनलाइनबाट ।

Facebook Comments