Fri. Apr 26th, 2024

राष्ट्रपति भण्डारी म्यान्मा प्रस्थान

काठमाडौं, असोज ३० गते । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माको राजकीय भ्रमणका लागि बुधवार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा असोज २९ देखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गर्नुहुनेछ ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिवलगायत हुनुहुन्छ । उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापाले बिदाई गर्नुभएको थियो ।

सो अवसरमा मन्त्रीहरु, संवैधानिक अङ्गका प्रमुखहरु, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखहरु, यहाँस्थित कूटनीतिक निकायका प्रतिनिधिलगायत विशिष्ट व्यक्ति उपस्थित हुनुहुन्थ्यो । राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

यसैबीच बुधवार साँझ म्यानमाको राजधानी नेपीत  पुग्नु भएकी राष्ट्रपति भण्डारीलाई म्यान्मा सरकारका अन्तर्राष्ट्रिय सहयोगमन्त्री ऊ क्य तीन, धार्मिक मामिला तथा संस्कृतिमन्त्री थुरा ऊ आङ को र नेपित नगरका प्रमुख डा म्यो आङले स्वागत गर्नुभएको थियो । नेपालका लागि म्यान्माका राजदूत भीमकृष्ण उदासले पनि राष्ट्रपतिको स्वागत गर्नुभएको थियो । राष्ट्रपति भण्डारीलाई नेपित शहरका बालबालिकाले पुष्पहार चढाई स्वागत गरेका थिए । राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत हुनुहुन्छ ।

गोरखापत्र अनलाईनका अनुसार राष्ट्रपति भण्डारी र म्यान्माका राष्ट्रपति मिन्तबीच बिहीबार प्रेसिडेन्सियल हाउसमा भेटवार्ता हुनेछ । राष्ट्रपतिसँग म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीले पनि सोही हाउसमा भेट गर्नुहुनेछ । सोही दिन म्यान्मा र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । राष्ट्रपति भण्डारीसँग बिहीबार नै म्यान्माका डिफेन्स सर्भिसका कमान्डर इन चिफले भेट गर्नुहुनेछ । त्यस्तै जेम्स म्युजियमको पनि नेपाली प्रतिनिधिमण्डलले अवलोकन गर्ने कार्यक्रम छ ।

 

Facebook Comments