Fri. Apr 26th, 2024

सद्भाव र सहकार्यका लागि दलहरुलाई नजिक ल्याउन चियापान महत्वपूर्ण

काठमाडौँ, असोज २९, बिहीबार । राजनीतिक दलहरुबीच वैचारिक मतभिन्नता रहेपनि राष्ट्रिय मुद्दाहरुमा सद्भाव र सहकार्यका लागि दलहरुलाई नजिक ल्याउन चियापान कार्यक्रमले सहयोग पुर्याउने नेताहरुले बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको बुधबार राजधानीमा आयोजित चियापान कार्यक्रममा उपस्थित नेताहरुले यस्तो धारणा व्यक्त गर्नुभएको हो । चियापान कार्यक्रममा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेललगायत सचिवालय सदस्यहरुको उपस्थिति रहेको थियो । दुई चरणमा विभाजित कार्यक्रमको पहिलोचरणमा पार्टी नेता, कार्यकर्ता, शुभचिन्तक तथा शुभेच्छुकहरुबीच शुभकामना आदनप्रदान भएको थियो । दिउँसो ३ बजेपछि विभिन्न दलका नेता, कुटनीतिक नियोगका पदाधिकारी तथा विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।

गोरखापत्र अनलाईनका अनुसार कार्यक्रममा उपस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलहरुका नेताबीच भेटघाट, नजिक बनाउन र राष्ट्रिय एकता निर्माणमा पर्वका अवसरमा आयोजित चियापान कार्यक्रमले सहयोग पुर्याउने बताउनुभयो । त्यस्तै, नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले वैचारिक रुपमा विविधता भए पनि दलहरुबीच सद्भाव, सहकार्यको वातावरण बनाउन चियापान कार्यक्रम नेपाली राजनीतिमा संस्कृतिकै रुपमा विकास भइसकेको बताउनुभयो ।
उहाँले मुलुकको समृद्धि, विकास र राष्ट्रिय एकताका लागि न्यूनतम सहमति र सहकार्यको आवश्यकता रहेकोमा जोडदिदै दशैंपछिको कोजाग्रत पूर्णिमाको दिन सद्भावका रुपमा चियापान संस्कृतिको सुरुवात बीपीले सुरु गरेको बताउनुभयो । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले दलबीच मतभेद भए पनि आत्मियता र सद्भाव कायम राख्न चियापान परम्परा सहयोग बनेको प्रतिक्रिया दिनुभयो ।

उहाँले राष्ट्रियताको संरक्षणमा दलहरुबीच सद्भाव, एकता र सहकार्य हुनुपर्ने बताउनुभयो । शुभकामना आदनप्रदान तथा चियापानमा सहभागीहरुले भृकुटीमण्डपको भित्री बगैंचा भरिभराउ भएको थियो । चियापानमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको समेत सहभागिता रहेको थियो । कार्यक्रममा समाजवादी पार्टी नेपालका नेता उपेन्द्र यादव, हिसिला यमी, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, नेकपा (माले) का महासचिव सीपी मैनाली, मोहन वैद्य समुहका नेता सीपी गजुरेललगायतको उपस्थिति रहेको थियो ।

यस्तै, सांसद, कुटनीतिक नियोगका प्रतिनिधि, लेखक, कलाकार, बुद्धिजीवी, उद्यमी, व्यवसायी, पार्टीका नेता तथा कार्यकर्ता, समर्थक, शुभेच्छुकको ठूलो संस्था उपस्थित रहेको थियो । दिउँसो १ बजेदेखि आयोजित शुभकामना आदनप्रदान तथा चियापानमा हजारौं कार्यकर्ता तथा शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।
बगैंचामा राखिएको फ्लेक्सको सेल्फी बोर्डमा तस्वीर खिच्नेको समेत भीड नै देखिन्थ्यो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ, जननेता मदन भण्डारी तथा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्वीरसँगै सेल्फी खिच्नसमेत लाइनमै उभिएको पाइयो । कार्यक्रमलाई गीत, संगीत र लोक धूनका प्रस्तुतिले थप रोमाञ्चक बनाएको थियो ।

पञ्चेबाजाको धूनसँगै बगैंचामा नाचगानसमेत गरेर कार्यकर्ताले मनोरञ्जन लिएका थिए । भारत प्रवासबाट राष्ट्रिय मेलमिलापको नीति लिँदै २०३३ सालमा बीपी कोइराला स्वदेश फर्कनु भएपछि दशैंपछि कोजाग्रत पूर्णिमाको दिन शुभकामना आदान प्रदान तथा चियापान परम्पराको सुरुवात भएको थियो । बीपीको निधनपछि गणेशमान सिंहले त्यो परम्परा थाम्नुभएको थियो । त्यस्तै, २०४८ सालदेखि तत्कालीन नेकपा (एमाले) ले पनि दशैं, तिहार तथा छठको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम आयोजना गर्दैआएको छ । नेकपाका नेता कृष्णगोपाल श्रेष्ठका अनुसार, २०४८ सालमा प्रतिपक्षी दलको नेताका हैसियले मनमोहन अधिकारीले शुभकामना तथा चियापान परम्पराको थालनी गर्नुभएको हो ।

Facebook Comments