Sat. Oct 19th, 2024

चीनको चेतावनीलाई बेवास्ता गर्दै अमेरिकाकी सभामुख पेलोसी ताइवानमा

काठमाण्डौं, २०७९ साउन १७ गते मंगलबार । चीनको चेतावनीलाई बेवास्ता गर्दै अमेरिकाकी सभामुख न्यान्सी पेलोसी आज साँझ ताइवान पुग्नु भएको छ । पछिल्लो २५ वर्षमा चीनको अभिन्न भू-भाग ताइवान पुग्ने उहाँ पहिलो शीर्ष अमेरिकी राजनीतिज्ञ बन्नु भएको छ ।

अमेरिकाको तल्लो सदनका सभामुख श्रीमती न्यान्सी पेलोसी एसियाली देशको भ्रमणका क्रममा सोमबार सिंगापुर पुग्नु भएको थियो । पेलोसी मलेसियाको राजधानी क्वालालम्पुरमा भेटवार्ता सकेर आज साँझ ताइवानको राजधानी ताइपेइ ओर्लिनु भएको हो ।

अमेरिकाले पेलोसीको ताइवान भ्रमणबारे औपचारिक घोषणा भएको थिएन । तर अमेरिकी नेभी र एयरफोर्सका २४ वटा फाइटर विमानको सुरक्षासहित उहाँ ताइपेइ पुग्नु भएको हो ।

सभामुख पेलोसी अमेरिकाको सरकारी वरियतामा तेस्रो स्थानमा पर्नुहुन्छ । लामो समयदेखि मानव अधिकारको पक्षमा वकालत गर्दै आउनु भएकी पेलोसी चीनको मानव अधिकारको रेकर्डको कटु आलोचकको रुपमा चिनिनु हुन्छ ।

चीनले सुरुदेखि नै पेलोसीको भ्रमणको विरोध गर्दै आएको छ र मंगलबार नै भ्रमण गरे ‘अमेरिकाले ठूलो मूल्य चुकाउने’ धम्की पनि दोहोर्‍याएको छ । एजेन्सी

Facebook Comments