Sat. Oct 19th, 2024

किसानको भूमिकालाई बजेटले माथि उठाउँछ: अर्थमन्त्री शर्मा

काठमाण्डौं, २०७९ साउन १७ गते मंगलबार । अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक उत्पादनमा आधारित अर्थतन्त्रमा फेर्ने लक्ष्य लिएर चालु बजेट ल्याइएको बताउनुभएको छ । उहाँले आयातमा निर्भर अर्थतन्त्रलाई परिवर्तन गर्न किसानको भूमिकालाई बजेटले माथि उठाउने बताउनुभयो ।

अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी)द्वारा मङ्गलवार काठमाडौँमा आयोजित ३० औँ किसान शहीद दिवस तथा ६९ औँ भीमदत्त पन्त स्मृति दिवस समारोहमा अर्थमन्त्री शर्माले कृषिमा आधारित उद्योगमार्फत कृषि उत्पादनमा आत्मनिर्भरता बढाउने र औद्योगिक उत्पादनमार्फत आयात प्रतिस्थापन गर्ने नीति सरकारको रहेको बताउनुभयो ।

अर्थमन्त्री शर्माले उत्पादन वृद्धिमा लाग्न आह्वान गर्दै आत्मनिर्भर अर्थतन्त्रमा लाग्यो भने मात्रै भीमदत्त पन्तको सपना पूरा हुने बताउनुभयो । उहाँले ताजा तरकारी निर्यात गरेर राम्रो आम्दानी गर्नुपर्ने नेपालले अझै पनि तरकारी आयात गरिरहेको बताउनुभयो ।

आत्मनिर्भर र उत्पादन वृद्धिका लागि भूमिहीनलाई जमिन उपलब्ध गराई उत्पादनमा जोड्नुपर्ने, पुँजी नहुनेलाई पुँजी दिएर उत्पादनमा लगाउनुपर्ने, औजार नभएकालाई औजार दिएर र श्रमिकलाई तालिम दिई श्रममा जोड्नुपर्ने आवश्यकता अर्थमन्त्री शर्माले औँल्याउनुभयो ।

भीमदत्तले सुरु गरेको भूमिसुधारको अवधारणा अझै पूरा नभएकाले सबै मिलेर पूरा गर्नुपर्ने उहाँको भनाइ छ । रेडियो नेपाल

Facebook Comments