Fri. Apr 26th, 2024

लोपउन्मुख ‘कुसुन्डा’ भाषाकी विज्ञ तथा संरक्षक ज्ञानीमैयाको निधन

काठमाडौं, २०७६ माघ ११ गते शनिबार

 लोपउन्मुख कुसुण्डा भाषाको पूर्ण वक्ता मानिएकी ज्ञानीमैया कुसुण्डाको शनिबार निधन भएको छ । लमही नगरपालिका वडा नं. ६ कुलमोहरस्थित आफ्नै घरमा उहाँको निधन भएको हो ।उहाँको मृत्युपछि उक्त भाषा थप संकटमा पर्ने भाषाका बीज्ञ तथा सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् ।

‘म मरेपछि यो भाषा पनि मर्छ, बचाउनुपर्छ भनेर खुबै लाग्नु हुन्थ्यो ।’ कुसुन्डा भाषाका अनुसन्धानकर्ता उदय आलेले भन्नुभयो ‘उहाँको दुःखद निधन भयो । अव यो भाषालाई बचाउन झनै समस्या पर्ने छ ।’ उहाँको निधनले कुसुण्डाको पहिचानमा अपूर्णीय क्षती पुगेको उहांले बताउनु भयो । अनुसन्धानकर्ता आलेका अनुसार ज्ञानीमैैयाले आफ्नो घरको पेटीमा समेत कुसुन्डा भाषाको कक्षा चलाउनु हुन्थ्यो । साना बालबालिकादेखी भाषा सिक्न चाहने जो कसैलाई पनि उहाँले सहजै भाषा सिकाउन थाल्नुहुन्थ्यो ।

भाषाको अध्ययन गर्न आउनेहरू महिनौंसम्म बसेर जान्थे । उहाँकै आधारमा भाषा आयोगले बिशेष कक्षा समेत चलाउन सहयोग ग¥यो । लोपन्मुख कुसुन्डा भाषाको संरक्षणमा ज्ञानीमैयाको ठूलो योग्दान छ । सरकारले उहाँलाई प्रमुख भाषा स्रोत व्यक्ती मानेर नयाँ पुस्तामा भाषा हस्तान्तरण गर्ने कार्यक्रम सञ्चालन गरेको आलेको कथन छ । भाषा आयोगले ज्ञानीमायालाई भाषिक वृद्धि स्वरुप मासिक तीन हजार रुपैयाँ उपलब्ध गराउदै आएको थियो । त्यस्तै भाषा आयोगले उहाँलाई श्रोत व्यक्ति मानेर दुई चरणको कसुन्डा भाषा कक्षा पनि संचालन भएको थियो ।

लामो समयदेखि कुसुन्डा भाषाको संरक्षणमा क्रियाशील ज्ञानीमैया बिरामी हुँदा कुसुन्डा भाषामै बर्बराउने गर्नुहुन्थ्यो । उहाँका एक छोरा र दुई छोरी हुन । छोरा प्रेमको ६ वर्षअघि करेन्ट लागेर मृत्यु भयो । छोरीहरुको विवाह भैसकेको छ । बिरामी पर्दा छोरी ज्वाई भेट्न र उपचारको लागी खटीनुभयो । उहाँ बुहारी र नाति नातिनाका साथ बस्दै आउनु भएको थियो । दशैंमा आफूभन्दा ठूलो मान्नेजन नभएकाले आफ्नै नातिनीको हातबाट दशैको टीका समेत लगाउनु भएको थियो ।

बाल्यकालको जीवन जंगलमा बिताएकी ज्ञानीमैयाले आमाबुवाबाट सिकेको कुसुण्डा भाषालाई अहिलेसम्म बचाएर राख्नुभयो । कुसुण्डा जातिको जंगली जीवनको समाप्तिसँगै भाषा संस्कृति पनि संकटमा परेको छ । अब कुसुन्डा भाषा बोल्न जान्ने उहाँकी बहिनी नाता पर्ने कमला कुसुन्डा मात्रै जीवित हुनुहुन्छ । ज्ञानीमैया र कमला भेट हुदा कुसुन्डा भाषामा दोहोरो कुराकानी गर्नुहुन्थ्यो । अव कमलासंग दोहोरो कुराकानी गर्ने व्यक्ती छैन् ।

कमलालाई भाषिक कुराहरु जनकारी भए पनि ज्ञानीमैयाँमा जस्तो पूर्ण सिप र ज्ञान नभएका कुसुन्डा भाषाको शब्दकोष प्रकासन गर्नुभएका आलेले बताउनुभयो । आलेका दाबीमा नेपालको जनगणना २०६८ अनुसार नेपालभर दुई सय ७३ जना कुसुन्डा रहेको उल्लेख छ । स्थलगत अध्ययनको क्रममा हाल जम्मा एकसय ५४ जना मात्रै रहेको आलेले जानकारी दिनुभयो । दाङमा कुसुन्डा जातीको संख्या ७५ रहेको छ । कुसुन्डा जातीको दाङ सहित  तनहुँ, कपिलवस्तु, गोरखा, अर्घाखाँची, प्युठान, रोल्पा, सुर्खेतमा बसोबास गर्ने गर्दछन ।

ज्ञानीमायाँको पार्थिव शरीरलाई अन्तिम शन्दान्जली दिन भाषा आयोगका अध्यक्ष लवदेव अवस्थी आउने र अन्त्येष्ठि गरिने परिवारिक श्रोतले जानकारी दिएको छ ।
पुस २८ गते आगो फुक्ने क्रममा एक्कासि चक्कर लागेर लडेपछि ज्ञानीमैया बिरामी पर्नु भएको थियो । उहाँलाई उपचारका लागि लमही हुँदै मेडिकल कलेज कोहलपुर लगिएको थियो । त्यहाँ पनि स्वास्थ्यमा सुधार आएन । घर ल्याएर पुनः फ्लोरेन्स अस्पतालमा भर्ना गरिएको थियो । तर, उहाँलाई निको भएन् ।

मस्तिस्कमा ‘डिजेनेरेटिभ चेन्जेज’ अर्थात उमेर बढ्दै जाँदा मस्तिस्कका सेलहरु नष्ट हुँदै जाने र दमको समस्या रहेको उपचारमा संलग्न फ्लोरेन्स अस्पताल लमहीका डाक्टर पुष्प भुसालले जानकारी दिनुभयो । गोरखापत्र अनलाईनबाट

Facebook Comments