Fri. Oct 18th, 2024

नेपाली लायन्स क्लबहरूद्वारा क्विन्स न्यूयोर्कमा संयुक्त रक्तदान

काठमाण्डौं, २०७८ फागुन २५ गते बुधबार । न्युयोर्क क्विन्समा मानवीय सेवा कार्यमा केहि बर्षदेखि सक्रिय नेपाली लायन्स क्लवहरु (Lions Club of Queens Buddha) र (Lions Club of Queens KTM) को संयुक्त आयोजनामा “Mission Lions Club: Blood Drive Event” यही मार्च ६ तारिक आइतबार ज्याक्सन हाइट, क्विन्समा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

क्विन्स र लंग आइल्यान्डमा रहेका नेपाली तथा अन्य विभिन्न समुदायका व्यक्तिहरु, दुवै क्लबका लायन्स पदाधिकारी र सदस्यहरु लगायतका सामाजिक व्यक्तित्वहरुले कार्यक्रममा रक्तदान गरेका थिए । न्यूयोर्क ब्लड सेन्टरसंगको प्राविधिक सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा दुवै क्लबका लायनहरूले स्वयंसेवी भई रक्तदाताहरूलाई आवश्यक सहयोग गरेका थिए ।

लायन्स इन्टरनेशनल स्पेशल्टी संयोजक लायन कृष्ण आचार्य र डिस्ट्रिक्ट २०-१ के का जोन चेयर लायन अर्जुन गौडेलको उपस्थिति सहित उहाँहरूले गर्नुभएको रक्तदानले रक्तदाताहरूमा थप उत्साह र प्रेरणा जगाएको थियो ।

नेपालस्थित हेटौंडाको लायन्स क्लबमा हालै प्रेसिडेंट भएर कार्य गर्नुभएकी लायन राधिका श्रेष्ठले समेत यो कार्यक्रममा स्वयंसेवीको रुपमा देखाउनु भएको लायन्सप्रतिको समर्पणले “Global Lionism” मा आवद्ध सबै लायनहरूको विश्व एकताको भावनाको तथ्य प्रकट भएको थियो ।

दुवै लायन्स क्लबका संयोजक लायन हजुरी शाह र लायन शिवजी खड्काको संयोजकत्वमा दुवै क्लबका बरिष्ठ लायन्स सदस्य तथा बोर्ड सदस्यहरूबाट भएका व्यवस्थापकिय र अन्य गतिबिधिहरू अत्यन्त प्रभावकारी रहेको थियो भने कार्यक्रम संचालनमा दुवै क्लबका लायन्स सदस्यहरुको सहभागिता र सक्रियतालाई दृष्टिगत गर्दा अब नेपाली डायस्पोराका लायन्स क्लबहरूमा पनि नेतृत्व क्षमता क्रमश विकास हुँदै गैरहेको प्रष्ट देखिन्थ्यो ।

उक्त रक्तदान कार्यक्रममा कुल ४५ जनाले आफ्नो नाम दर्ता गरेता पनि प्रारम्भिक स्वास्थ्य परीक्षणबाट कुल ३५ जनाले मात्र रक्तदान गर्न छनौट भएका थिए । रक्तदान अवधिभर क्लब अध्यक्ष द्वय लायन रीमाया नेपाली नेपाली (Queens Buddha) र लायन अशोक कार्की (Queens KTM) ले सबै रक्तदाताहरूलाई प्रमाणपत्र वितरण गर्दै धन्यवाद व्यक्त गर्नु भएको थियो ।

कोभिड सुरू भएदेखि नै यी दुई लायन्स क्लबहरूले नियमित रुपमा कम्तिमा प्रत्येक ३/३ महीनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेका छन् ।

Facebook Comments