Mon. May 20th, 2024

सर्वदलीय बैठकमा संसद्को गतिरोध, एमसिसी लगायतका विषयमा छलफल

काठमाण्डौं, २०७८ फागुन २ गते सोमबार । सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको सर्वदलीय बैठकमा वर्तमान संसद्को गतिरोध अन्त्य गर्नुपर्ने, संसद्मा रहका विधेयकहरूका साथै एमसिसीका विषयमा गम्भीरतापूर्वक छलफल भएको छ ।

सर्वदलीय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सभामुख सापकोटाले आजको बैठकले संसद्को गतिरोध अन्त्य गरेर जनताका अति आवश्यक काम कारबाहीलाई अगाडी बढाउनुपर्ने र विपक्षसँगको संवादलाई जारी राखेर एउटा निकास दिनुपर्नेमा जोड दिएको बताउनुभयो ।

सभामुख सापकोटाले यस्ता सर्वदलीय छलफलको माध्यमबाट निकास निकाल्न सकिने भएकाले प्रतिपक्षी दलसँग संवाद र छलफलकै माध्यमबाट निकास निकाल्न निरन्तर प्रयत्नरत रहने र आजको बैठकले आफूलाई त्यस प्रकारको बल प्रदान गरेको बताउनुभयो ।

सभामुख सापकोटाले नागरिकता विधेयक, नागरिक उड्डयन विधेयक लगायत थुप्रै महत्त्वपूर्ण विधेयकहरू पारित गर्नु जरुरी रहकाले संसद्को गतिरोध भइरहनु उपयुक्त नभएकाले प्रतिपक्षी दल सहमतिमा आउनुपर्ने र त्यसका लागि निरन्तर पहल भइरहने पनि बताउनुभयो ।

अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा सञ्चारकर्मीको जिज्ञासामा सभामुख सापकोटाले त्यसमा दलहरूकै भूमिका निर्णायक हुने, आफू त रेफ्रीको भूमिकामा मात्र रहेको बताउनुभयो । सर्वदलीय बैठकमा एमसीसीका विषयमा सबैले आआफ्नो धारणा राखेको पनि उहाँले बताउनुभयो ।

सभामुख सापकोटाले बोलाउनुभएको सर्वदलीय बैठकमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका नेताहरूसँगै केही मन्त्रीहरूको पनि सहभागिता थियो । रेडियो नेपाल

Facebook Comments