Sun. Nov 17th, 2024

आज बसेको एमाले संसदीय दलको बैठक ठोस निर्णय बिना सकियो

काठमाण्डौं, २०७८ फागुन २ गते सोमबार । नेकपा एमाले संसदीय दलको आज बसेको बैठक ठोस निर्णय बिना सकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावका विषयमा छलफल गर्न बसेको बैठक ठोस निष्कर्ष बिना सकिएको हो ।

एमाले संसदीय दलको सो बैठकले वस्तुस्थितिको ठोस विश्लेषण, कानुन र संविधानको अध्ययन गरेर निर्णय गर्ने जिम्मा शीर्ष नेतृत्वलाई दिएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो। आइतबार सत्तारुढ गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि बसेको सचिवालय बैठकले त्यसको प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

बैठकमा सांसदहरुले महाअभियोग प्रस्तावको कसरी प्रतिवाद गर्ने भन्नेबारे शीर्ष नेताहरुबाट ठोस निर्णय आओस् भन्ने धारणा राखेको भट्टराईले बताउनुभयो ।

जबराविरुद्धको महाअभियोगको विरोधमा एमालेले सर्वोच्च अदालतका अरु चार न्यायाधीश र सभामुखविरुद्ध कदम चाल्ने भनी सार्वजनिक भएका सूचना आधिकारिक नभएको भट्टराईले बताउनुभयो ।

बैठकमा सांसदहरुले वस्तुस्थितिको ठोस विश्लेषण गरेर कानुन र संविधानको अध्ययन गरेर मात्र निर्णय गर्न नेतृत्वलाई सुझाव दिएका थिए । सांसदहरु भीम रावल, घनश्याम भुसाल लगायतले प्रधानन्यायाधीश जबरालाई बोकेर चुनावमा जान नसक्ने धारणा राख्नुभएको थियो ।

प्रमुख सचेतक भट्टराईले नेतृत्वको औपचारिक धारणा आएपछि एमालेले कदम चाल्ने बताउनुभयो । सांसदहरुको हस्ताक्षर गराएर राखेको र आवश्यक परेका ठाउँमा उच्चस्तरीय नेतृत्वसँग कुरा गरेर अगाडि बढाउनुपर्ने हुन सक्ने भट्टराईको भनाई छ ।

Facebook Comments