Sat. May 4th, 2024

राष्ट्रियसभामा नेकपाका १६ उम्मेदवार को नालीवेली

काठमाडौं, २०७६ पुष १८ गते शुक्रबार ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा निर्वाचनको लागि उम्मेदवार टुंगो लगाएको छ। शुक्रबार बसेको सचिवालय बैठकले १६ उम्मेदवारको टुंगो लगाएको हो। जसमा पूर्वएमालेका ९ र पूर्वमा‌ओवादीबाट ७ उम्मेदवार परेका छन्।

नेकपाका १६ उम्मेदवारमध्ये प्रतिनिधिसभा निर्वाचनमा पराजितदेखि प्रदेशसभामा टिकट नपाएकासम्म छन्। प्रतिनिधिसभा चुनावमा उम्मेदवार बनाउने आश्वासन दिएर बैंकको जागिर छाड्न लगाएर ‘अलपत्र’ परेकालाई नेकपाले राष्ट्रियसभा उम्मेदवार बनाएको छ।

अन्नपूर्ण पोष्ट अनलाईनका अनुसार राष्ट्रियसभामा १९ सदस्य रिक्त छन्। जसमा नेकपाबाट १६ उम्मेदवार हुनेछन्। प्रदेश-२ मा भने नेकपा र राजपाले दुई/दुई उम्मेदवार भागबन्डा गरेका छन्। जस अनुसार प्रदेश-२ मा राजपाका दुई र नेकपाका दुई उम्मेदवार हुनेछन्। बाँकी रहेको १ सदस्य भने राष्ट्रपतिले मनोनित गर्नुहुनेछ । आइतबार मनोनयन दर्ता कार्यक्रम रहेको राष्ट्रियसभाको निर्वाचन माघ ९ गते हुँदैछ।

दलित आन्दोलनका अगुवा पनि उम्मेदवार
नेकपाबाट प्रदेश-२ को राष्ट्रियसभा निर्वाचनका लागि दुईजना टुंगो लागेको छ। टुंगो लागेको उम्मेदवारमा राधेश्याम पासवान र तुलसा दाहाल रहनु भएको छ। राधेश्याम पासवान दलित आन्दोलनका अगुवा हुनुहुन्छ। उहाँले सर्लाही, महोत्तरी, रौतहट, सिरहालगायतमा विभिन्न चरणमा भएको दलित आन्दोलनको अगुवाई गर्नुभएको थियो।

उहाँ तत्कालीन दलित जनजाती पार्टीको उपाध्यक्ष हुनुहुन्थ्यो। उहाँले माओवादी आन्दोलनमासमेत सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो।
। पासवान माओवादीको सिफारिसमा २०७२ मा राष्ट्रिय दलित आयोगका सदस्य हुनुभएको थियो। पासवान हाल नेकपाको प्रदेश कमिटी सदस्य हुनुहुन्छ।

त्यस्तै बहुदलीय तथा निर्दलीय व्यवस्थाविरुद्ध भएको आन्दोलनबाट सक्रिय राजनीतिको सुरुवा गर्नुभएकी अर्का व्यत्तित्व हनुहुन्छ तुलसा दाहाल। दाहालले बहुदलीय, निर्दलीय आन्दोलनको जगबाट २०४० नेकपा मालेको केन्द्रीय सदस्यसमेत हुनुभएको थियो। दाहाल हाल नेकपाकी केन्द्रीय कार्यालय सचिव तथा प्रदेश(२ कमिटी सदस्य हुनुहुन्छ।

१३ वर्ष जेल बस्नु भएका बेदुराम भुसाल
प्रदेश-३ मा नेकपाबाट दुई उम्मेदवार चयन भएका छन्।दुईमध्ये एक हुनुहुन्छ बेदुराम भुसाल। नेकपाबाट भुसाल पार्टीभित्र बौद्धिक र इमान्दार नेताको रुपमा चिनिनु हुन्छ। केही समयअघि मात्रै जनताको बहुदलीय जनवाद ९जबज०मा विद्यावारिधि गर्नुभएका भुसाल राजनीतिक सिद्धान्त इतिहासमा पहिलो पीएचडी गर्ने नेता हुनुहुन्छ।

२०२७ सालमा कम्युनिस्ट पार्टीको सदस्य हुनु भएका बेदुरामले विद्यार्थी संगठनमा रहेर लामो समय काम गर्नुभयो। अर्घाखाँचीको धनचौर भन्ने ठाउँमा उहाँले पुष्पलाल श्रेष्ठले नेतृत्व गरेको विद्यार्थी संगठनमा काम गर्नुभएको थियो। उहाँ २०२९ सालमा पार्टीको सेल कमिटी सदस्य बन्नु भयो। २०३० सालमा लुम्बिनीमा भएका ठूलाठूला आन्दोलनमा सहभागी हुनु भएका भुसाल अर्घाखाँचीको बर्रे संघर्षको क्रममा २०३० चैत ३० गते पक्राउ पर्नुभयो। त्यसपछि लगातार १३ वर्ष जेलमा बस्नु भएका भुसाल २०४३ साल जेठमा काठमाडौंबाट छुट्नु भयो।

जेलबाट छुटेपछि उहाँ चितवन पुगेर भूमिगत हुनुभयो। भूमिगत कालमा गुल्मी अर्घाखाँची संयुक्त कमिटी सदस्य बन्नु भएका भुसालले पाल्पा, रुपन्देही जिल्ला कमिटीमा रहेर काम गर्नुभयो। २०४७ सालमा नेकपा मालेको कपिलवस्तु जिल्ला कमिटी सचीव बन्नु भएका भुसाल पश्चिम दक्षिण क्षेत्रीय किमिटी सदस्य बन्नुभयो।

२०४७ सालमा लुम्बिनी अञ्चल कमिटी सचिव बन्नु भएका भुसाल २०५७ सालमा नेकपा एमालेसँग पार्टी एकता भएपछि केन्द्रीय संगठन विभागको सचिव बन्नु भयो। उहाँ २०५९ सालमा केन्द्रीय अनुशासन निरीक्षण कमिटी सभापति हुनुभयो। २०६५ सालमा केन्द्रीय किमिटी सदस्य, पोलिब्यूरो सदस्यसँगै स्कुल विभाग विभाग प्रमुख हनुभयो। उहाँ २०५८ देखि जनआन्दोलन अवधिसम्म राष्ट्रियसभाको सदस्य बन्नु भएको थियो। एमालेको नवौं महाधिवेशनबाट पोलिटब्यूरो सदस्य बन्नु भएका भुसाल अहिले नेकपाका स्थायी समिति सदस्य हुनुहुन्छ।

त्यस्तै राष्ट्रियसभाको उम्मेदवार बन्नु भएकी गंगा बेलवासे पूर्वमाओवादी नेता स्व। धनीराम पौडेलको श्रीमती हुनुहुन्छ। १९ वर्षदेखि राजनीतिमा लाग्नु भएकी उहाँ अहिले नेकपाको केन्द्रीय सदस्य हुनुहुन्छ। २०४६ मा नेकपा चौंथो महाधिवेशनबाट उहाँ संगठित बन्नु भएको थियो।

प्रतिनिधिसभामा पराजित श्रेष्ठ राष्ट्रियसभाका उम्मेदवार
प्रदेश-४ बाट राष्ट्रियसभामा दुई उम्मेदवार बनेका छन्। नेकपाबाट नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा उम्मेदवार बन्नु भएको छ। श्रेष्ठ २०७४ मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा गोरखा-२ बाट पराजित हुुनुभएको थियो।

त्यस्तै २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेबाट भानु नगरपालिकाको मेयर पदमा पराजित भगवती न्यौपाने सत्तारुढ नेकपाबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवार बन्नुभएको छ। नेपाली कांग्रेसका मेयर उम्मेदवार उदयराज पौडेलले न्यौपानेलाई ४ सय ५१ मतान्तरले हराउनु भएको थियो। न्यौपाने संविधानसभा र प्रतिनिधिसभा सदस्यमा गरी दुई पटक समानुपातिक सूचीमा पर्नुभएको थियो। पार्टी एकीकरणपछि पार्टी नेतृत्वले जिल्ला अध्यक्ष केदार सिग्देललाई बनाएपछि उहाँ भूमिकाविहिन हुनुहुन्थ्यो।

२०५० सालमा अनेरास्ववियु कालिका मावि पूर्कोट तनहुँको सचिवबाट सुरु गरेको विद्यार्थी राजनीतिक यात्रा गोरखा क्याम्पसको एकाई कोषाध्यक्ष हुँदै महेन्द्ररत्न क्याम्पस ताहाचलको कमिटी हुँदै जिल्ला कमिटी तनहुँको सदस्यसम्म पुग्यो। अनेमसंघको लामो राजनीति गर्नुभएकी न्यौपाने जिल्ला सचिवसम्म हुनुभएको थियो ।

जनयुद्धका घाइतेदेखि मेयरमा पराजितसम्म
प्रदेश-५ बाट तीन जनालाई उम्मेदवार बनाएको छ। तीन जनामध्ये दुई जना पूर्वएमाले र एक जना पूर्वमाओवादीका हुन्।

पार्टीले महिलाबाट विमला घिमिरे, अल्पसंख्यकरअपांगबाट जगप्रसाद शर्मा र अन्यबाट गोपालप्रसाद भट्टराईलाई उम्मेदवारमा चयन गरेको छ। घिमिरे पार्टीको केन्द्रीय कमिटी सदस्यसहित कपिलवस्तु जिल्ला सहइन्चार्ज हुनुहुन्छ। उहाँ स्थानीय तहको निर्वाचनमा बाणगंगा नगरपालिकाको मेयरमा पराजित हुनुभएको थियो। ४६ वर्षीया घिमिरे अखिल नेपाल महिला संघको स्थायी कमिटी सदस्यसमेत हनुहुन्छ ।

अल्पसंख्यक तथा अपांगता कोटामा उम्मेदवार सिफारिस भएका शर्मा दाङ निवासी हुनुहुन्छ। उहाँ तत्कालीन माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका घाइते हुनुहुन्छ। माओवादीको केन्द्रीय सचिवालय सदस्यसम्म भएका उहाँ अहिले नेकपाको केन्द्रीय सदस्य र प्रदेश कमिटीको सचिवसमेत हुनुहुन्छ। ०५५ सालमा सल्यानमा भएको सुरक्षाकर्मीसँगको भिडन्तमा उहाँ घाइते हनुभएको थियो।

अन्य कोटाबाट परेका गोपाल भट्टराई पूर्वएमालेका इमान्दार नेताका रुपमा चिनिनुहुन्छ। पुष्पलालसँग रहेर काम गर्नुभएका ६९ वर्षीय भट्टराई प्रदेशको निर्वाचनमा समानुपातिक सूचीमा पर्नुभएको थियो। ०२८ सालमा वामदेव गौतम रुपन्देहीको पार्टी सचिव हुँदा जिल्ला कमिटी सदस्यका रुपमा काम गरेका भट्टराई अहिले प्रदेश कमिटी कार्यालय सचिवका हुनुहुन्छ। उहाँले २२ वर्ष जिल्ला कमिटीमा रहेर काम गरेर अञ्चल हुँदै प्रदेश कमिटीमा पुग्नु भएको हो ।

प्रदेशमा टिकट नपाएका शर्मादेखि बैंकको जागिर छाड्नु भएकी सुमित्रासम्म
कर्णाली प्रदेशबाट राष्ट्रियसभाको निर्वाचनका लागि दुई उम्मेदवार बनेका छन्। जसअनुसार पूर्वमाओवादीबाट मायाप्रसाद शर्मा र पूर्वएमालेबाट सुमित्रा विसी हुनुहुन्छ।

नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश कमिटीका सचिव मायाप्रसाद शर्मा (पारसमणी) हुनुहुन्छ। २०३८ सालमा अखिलको सदस्य हुँदै २०४२ सालमा शिक्षक संगठनमा आवद्ध हुुुनुभएका शर्मा २०४७ सालदेखि पार्टी राजनीतिमा लाग्नु भएको हो। २०५१ देखि २०६३ सालसम्म तत्कालीन माओवादीमा आवद्ध भएर भूमिगत हुनुभएको थियो। २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनपछि २०६५ सालमा समानुपातिक सांसद बन्नु भएको थियो। २०६९ सालमा तत्कालिन माओवादी विभाजनपछि मोहन बैद्य किरण समूहमा लाग्नु भएका शर्मा रामबहादुर थापा (बादल)सँगै एकीकृत माओवादीमा फर्किनु भएको थियो ।

सुमित्रा विसी पूर्वएमाले हुनुहुन्छ। उहाँ नेपाल कम्युनिस्ट पार्टी मालेबाट २०३५ सालबाट पार्टी राजनीतिमा लाग्नु भएको हो। तत्कालीन एमाले निकट अखिल नेपाल महिला संघको केन्द्रीय सचिवसमेत हुनुभएको थियो। बाँकेको ज्ञानोदय प्राविमा एक वर्ष शिक्षण पेशा गर्नुभएकी उहाँ २०४६ सालमा वाणिज्य बैंकमा जागिरे हुनुहुन्थ्यो। २०७४ सालमा पार्टीले समानुपातिक उम्मेदवार बनाउने आश्वासनपछि उहाँले राष्ट्रिय वाणिज्य बैंकको जागिबाट राजीनामा दिनुभएको थियो।

प्रदेश-१ तीन उम्मेदवार
नेकपाले प्रदेश-१ बाट राष्ट्रियसभा उम्मेदवार तीन जनाको नाम टुंगो लगाएको छ। महिलाबाट इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल उम्मेदवार हुनुभएको छ। इन्दु र देवेन्द्र पूर्वएमालेका हुनुहुन्छ भने गोपी अछामी पूर्वमाओवादी हुनुहुन्छ।

सुदूरपश्चिम दुई उम्मेदवार
सुदूरपश्चिमबाट दुईजना उम्मेदवारको टुंगो लगाएको छ। अछामका तारामान स्वाँर र कैलालीकी शारदा भट्टको राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारीका लागि टुङगो लगाएको हो। स्वाँर नेकपाका केन्द्रीय सदस्य तथा अछाम जिल्लाका इन्चार्ज हुनुहुन्छ।उहाँ साविकको नेकपा माओवादीका नेता हुनुहुन्छ। स्वाँर प्रचण्डका पुराना सहयात्री पनि हुनुहुन्छ ।

यस्तै कैलालीकी शारदा भट्ट सक्रिय महिला नेत्री हुनुहुन्छ । उहाँ साविकको नेकपा एमालेकी नेत्री हुनुहुन्छ । उहाँ केपी शर्मा ओली गुटको भएको पार्टी स्रोतले जनाएको छ। अन्नपूर्ण पोष्ट अनलाईनको सारांश

Facebook Comments