Sat. May 18th, 2024

हुम्ला, जुम्ला, बैतडी लगायत देशका उच्च भागमा हिमपात, जनजीवन कष्टकर

काठमाडौं, २०७६ पुष १८ गते शुक्रबार ।

मौसमा आएको बदलीसँगै देशका विभिन्न भागमा हिमपात भएको छ । उच्च पहाडी भेगमा हिमपातका कारण कतै सडक अवरुद्ध भएको छ भने कतै अत्याधि चिसोले जनजीवन प्रभावित भएको छ । गोरखापत्रका बैतडी समाचारदाता गोकर्ण दयालका अनुसार बैतडीमा हिमपातले जनजीवन प्रभावित भएको छ ।

त्यस्तै गोरखापत्रका जुम्ला समाचारदाता नेत्र शाहीका अनुसार जुम्लामा यस बर्ष दोस्रो पटक हिमपात भएको छ । शुक्रवार जुम्लामा विहानैदेखि हिमपात भएको हो । हिमपातसँगै अत्यधिक चिसो समेत बढेकोलेृ जनजीवन कष्टकर बनेको छ। चिसोका कारण स्थानीयबासी घरबाहिरको काममा निस्कन सकेका छैनन् ।

तीन दिनदेखि वादल लागेको जुम्लामा शुक्रवार हिमपात हुन सुरु भएपछि यातायात, शैक्षिक संस्थाहरु, प्रभावित भएका छन् । चिसोले बालबालिका, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । जुम्लाको तापक्रम माइनस डिग्रीमा सेल्सियस भन्दा तल भइरहेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ ।

यसैबीच गोरखापत्रका दैलेख समाचारदाता कमलप्रसाद शर्माका अनुसार बिहीवार साँझदेखि परेको अविरल बर्षा संगै हिमपातका कारण सुर्खेत दैलेख सडक खण्डको गुराँसेमा सडक अबरुद्ध भएको छ । राती परेको हिउँका कारण दैलेखदेखि सुर्खेतका लागि छुटेका सवारी साधन गुराँसेमा रोकिएको रानिमत्ता प्रहरी चेक पोष्टका प्रहरी साहायक निरीक्षक चन्द्रलाल गिरीले जानकारी दिनुभयो ।

उहाँले सुर्खेत दैलेख सडक खण्डको गुराँसेमा एक फिट भन्दामाथि हिउँ परेको कारण सवारी साधनहरु रोकिएको र सवारी साधनलाई हिउँ पन्छाएर सवारी साधन संचालन गरेको जनाउनुभयो । गुराँसेमा हिमपातका कारण बिद्युतका पोल र केवल तारमा समेत क्षति भएको छ । बर्षातसंगै आएको हिमपातले दैलेखका उच्च पहाडी भेगका स्थानीय चिसोका कारण जनजिवन प्रभाबित भएको छ । जिल्लाको सबैभन्दा अग्लो भूभाग महावु नौमूले गाउँपालिकाका उच्च भूभागमा हिमपात हुदाँ स्थानियको जनजीबन कष्टकर बनेको छ ।

यसैगरी गोरखापत्रकै जिरी समाचारदाता कैलाश लामाका अनुसार धार्मिक तथा प्राकृति रुपमा प्रसिद्ध दोलखाको कालिञ्चोक क्षेत्रमा दोस्रो पटक हिमपात भएको छ ।

यो बर्ष पहिलो पटक मंसिर २७ गते हिमपात भएको कालिञ्चोकमा शुक्रवार दिउँसोबाट फेरि हिमपात भएको हो। हिमपातसंगै चरिकोट र आसपासका क्षेत्रबाट हिउँ खेल्न आउनेहरूको संख्या बढेको छ। कालिञ्चोक स्थित होटल सुनपातीका सञ्चालक हरि ओलिका अनुसार कालिञ्चोकको भगवती मन्दिर, टुट्वान , घ्याङ डाँडा, बुकेनी, कुरी, गणेश थुम्की लगाएतको ठाउँमा एक फिटसम्मको हिउँ परेको छ। गोरखापत्र अनलाईनबाट

Facebook Comments