Sat. Oct 19th, 2024

एमसीसीको नेपालस्थित कार्यालय घेराउ

काठमाण्डौं, २०७८ मंसिर २७ गते सोमबार । विभिन्न राजनीतिक दलहरुले अमेरिकी सहयोग परियोजना एमसीसीको नेपालस्थित कार्यालय (एमसीए)को कार्यालय घेराउ गरेका छन्। आज सोमबार दिउसो एमसीए, नेपालको कार्यालय दरबारमार्गस्थित होटल याक एण्ड यतिमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र नेकपा (क्रान्तिकारी माओवादी)सहितका विभिन्न राजनीतिक दलहरुले कार्यालय घेराउ गरेका हुन्।

घेराउपछि आयोजित कोणसभामा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसीसी भनेको जनताको टाउकोमाथि तेर्स्याइएको तरबार भएको बताउनु भयो। उहाँले एमसीसी खारेज गर्न सबै नेपाली जनताले चाहेको भन्दै सो सम्झौता खारेज नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिनुभयो ।

नेता गजुरेलले एमसीसीको विरोधमा भोली (मंगलबार) संसद भवन घेराऊ गर्ने घोषणा पनि गर्नुभएको छ ।

‘एमसीसी भनेको एउटा यस्तो धारिलो तरबार हो। जो नेपाली जनताको टाउकोमा तेर्स्याइरहेको छ। हामी वारीपारी भएर हिँडिरहेका छौँ। तरबार हल्लिरहेको छ। अलिकति सावधानी भएन भने गर्धन काटिन्छ। त्यसकारण एमसीसी संशोधन होइन खारेज गरिनुपर्छ’, उहाँले भन्नुभयो, ‘एक, दुई, तीन खारेज हुनुपर्छ। खारेज नहुँदासम्म हाम्रो संघर्ष जारी रहनेछ। यो खारेजको माग गरिरहँदा एउटा राम्रो पक्ष के भएको छ भने एमसीसीलाई लिएर नेपाली जनतामा ध्रुवीकरण भएको छ। अहिले एमसीसी खारेज गर्न सबै नेपाली जनता चाहन्छन्।’

कार्यक्रममा नेकपा नेता धर्मेन्द्र बास्तोलाले नेपालका लागि एमसीसी खतरनाक भएकोले खारेज हुनुपर्ने बताउनु भयो। उहाँले भारतमा आफ्नो बजार बिस्तार गर्न र चीनलाई भाँड्नका लागि अमेरिकाले नेपालमा एमसीसी ल्याएको आरोप समेत लगाउनु भयो ।

बाँस्तोलाले एमसीसी पास भएमा नेपाली सेना, पुलिस, कर्मचारीहरु एक अमेरिकी अधिकारीको इसारामा चल्नुपर्ने बाध्यता सिर्जना हुने दावी समेत गर्नुभयो। उहाँले अमेरिकाको गुलाम भएर नबस्नका लागि जनता सडकमा उर्लिनु पर्ने बेला भएको पनि बताउनु भएको छ ।

‘एमसीसी इण्डोप्यासिफिक रणनीतिभित्र सञ्चालन हुने संगठनको रुपमा चलेको छ। यो भनेको नेपाल, भारत, चीन, उत्तर एशियाका देशहरु, उत्तर पूर्व एशियाका देशहरु, दक्षिण पूर्व एशियाका देशहरु, मध्यपूर्वका एशियाली देशहरुमा अधिकार गर्नका लागि बनाइएको संगठन हो। जति एमसीसीमा पैसा उठ्छ त्यो इण्डोप्यासिफिक भएर आउँछ। एमसीसी भनेको अमेरिकाको सैन्य रणनीति हो। यो सैन्य संगठन हो’, उहाँले भन्नुभयो, ‘यदि एमसीसी आए नेपालको सेना, प्रहरी, कर्मचारी अमेरिकी एक अधिकारीको निर्देशनमा चल्नुपर्छ। संवेदनशील राजनीतिक अवस्थामा नेपाल छ। भारतमा बजार विस्थापित गर्न र चीनलाई टुक्राउन एमसीसी आउन लागेको हो। तर यसले नेपाललाई झनै नराम्रो गर्दछ। यदी यो पास भए हामी अमेरिकाको गुलाम भएर बस्नुपर्ने स्थिती छ। नेपालका सारा प्राकृतिक सम्पदाहरू अमेरिकाको हातमा हुनेछन्। अमेरिकी एमसीसी नेपालको लागि खतरनाक अवस्थामा रहेको छ।’

नेता बाँस्तोलाले नेपाली जनतालाई कंगाल बनाउन, नेपाललाई लुट्नको निम्ति एमसीसी आइरहेकाले यसलाई खारेज गर्नुपर्ने पनि बताउनु भएको छ ।

Facebook Comments