Sat. Oct 19th, 2024

नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत भैरहेको निर्वाचन अन्तिम चरणमा

काठमाण्डौं, २०७८ मंसिर २७ गते सोमबार । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि विहान ११ वजेपछि सुरु भएको मतदान अन्तिम चरणमा पुगेको छ । निर्वाचन समितिका अनुसार मतदान राति १० बजेसम्म हुने भएको हो ।

यद्यपी, निर्वाचन समितिले सोमबार राति ९ बजेसम्म मतदान हुने सूचना जारी गरेको थियो । तर, अब राति १० बजेसम्म मतदान हुने समितिका सदस्य अधिवक्ता तेजबहादुर रावलले जानकारी दिनुभयो । राति ८ः४५ सम्म ४३ सय ५० मत खसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
समितिका सदस्य रावलका अनुसार मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ । मतदान सकिएको डेढ घण्टापछि मतगणना सुरु हुने पनि उहाँले बताउनुभयो ।

गोरखापत्र अनलाईनका अनुसार कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वसहितको कार्यसमिति चयनका लागि भृकुटीमण्डप परिसर, भृकुटीमण्डप प्रदर्शनी कक्ष र राष्ट्रियसभा परिसर मतदान जारी छ ।

मतदान निर्धारित समयभन्दा साढे तीन घण्टा ढिलो गरि सुरु भएको हो । महाधिवेशनमा ४ हजार ४ सय ७३ जना प्रतिनिधि छन् । २९ वटा मतपत्रमा मत दिनुपर्ने भएकोले एकजना महाधिवेशन प्रतिनिधिलाई मतदान गर्न करिब १ घण्टा लाग्ने गरेको छ ।

Facebook Comments