Sat. Oct 19th, 2024

भोलिदेखि संसदको हिँउदे अधिवेशन सुरुहुने

काठमाण्डौं, २०७८ मंसिर २७ गते सोमबार । संसदको हिँउदे अधिवेशन भोलि मंगलबारदेखि सुरुहुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्को मङ्गलबारदेखि सुरु हुने नियमित हिँउदे अधिवेशन भएकाले त्यसको मुख्य एजेण्डा विधेयकमै केन्द्रित रहने बताउनुभएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा अधिवेशनका लागि भएको तयारी जानकारी लिएपछि सञ्चारर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले अधिवेशनका लागि समग्र व्यवस्थापनका पाटोबाट सबै तयारी पूरा भएको जानकारी दिनुभयो ।

सभामुख सापकोटाले भन्नुभयो,“सदन सहमतिका साथ अधि बढाउन मैले तटस्थ, स्वतन्त्र र निष्पक्षरुपमा संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर काम गर्न प्रतिबद्ध छु । यस सम्बन्धमा जनतालाई प्रष्ट पार्दै लगेको छु, कहीँकतै अस्पष्टता भएमा व्यवहार र कामबाटै प्रष्ट हुनेछ ।”

सदनमा दलकै भूमिका निर्णयक हुने भएकाले खेलमा अम्पायर जस्तै सभामुखका हैसियतले सदन सुचारु भएपछि समन्वय र सहजीकरणको भूमिका देखिँदै जाने बताउँनुभयो । उहाँले भन्नुभयो, “संविधान, कानूनले निर्दिष्ट गरेअनुरुप समन्वय र सहजीकरण गर्दै सदन अघि बढछ । प्राप्त भूमिका अनुसार कार्यव्यवस्था र दलको बैठक डाकेर सदन सुचारु गर्न हरसम्भव प्रहल र प्रयत्न हुनेछ ।”

नेकपा एमालेका सांसद गणेश पहाडी स्वभाविकरुपमा हिँउदे अधिवेशनमा विधेयककै विषयमा केन्द्रित रहेर अघि बढ्नुपर्ने प्रतिक्रिया दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा दुवै सदनको अधिवेशन मङ्ङगलबार दिनको २ बजे बस्ने गरी यही मङ्सिर १७ गते आह्वान गर्नुभएको थियो ।

Facebook Comments