Sat. Oct 19th, 2024

प्रधानमन्त्री देउवा भन्नुहुन्छ, “स्वास्थ्यका लागि योग सरल विकल्प”

काठमाण्डौं, २०७८ मंसिर ३ गते शुक्रबार । प्रधानमन्त्री शेरबहादुर देउवाले मानसिक एवम् शारीरिक स्वास्थ्यका लागि योग उत्तम र सरल विकल्प रहेको बताउनुभएको छ । पतञ्जलि योग समिति नेपालले आज काठमाडौँको मण्डिखाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले विश्वका धेरै स्थानमा शरीरलाई स्वस्थ राख्न व्यवस्थित व्यायामका रुपमा योगलाई अपनाउन थालिएको उल्लेख गर्नुभयो ।

नेपालमा आयुर्वेद औषधि उत्पादन, कृषि तथा शिक्षाको क्षेत्रमा काम गर्ने पतञ्जलिजस्ता नाफारहित संस्थालाई सरकारले सधैँ सहयोग गर्ने बताउनुभयो । योग कृषि स्वामी रामदेव र आचार्य बालकृष्णले नेपालमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्नुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री देउवाले मण्डिखाटारमा नवनिर्मित पतञ्जलि योग आश्रमको भवन उद्घाटन, सेटलाइटबाट प्रसारण हुने पतञ्जलि नेपाल र आस्था नेपाल दुई वटा टेलिभिजन च्यानलको शुभारम्भका साथै स्वदेशी समृद्धि कार्ड वितरणको प्रारम्भ गर्नुभयो ।

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले योगले प्रेम र सद्भाव बढाउने भएकाले जुनसुकै पेसा तथा व्यवसाय गर्नेका लागि पनि ध्यान योग आवश्यक रहेको बताउनुभयो ।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वामी रामदेव र आचार्य बालकृष्णले योगबाट आरोग्यता र उद्योगको महाअभियान सञ्चालन गरेर योगमा नयाँ क्रान्ति ल्याएको बताउनुभयो ।

कार्यक्रममा भर्चुअल माध्यमबाट सम्वोधन गर्नुहुँदै भारत सरकारका केन्द्रीय सडक परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीले स्वामी रामदेव र आचार्य बालकृष्णले नेपाल र भारतका जडीबुटीको अनुसन्धान र प्रशोसन गरेर औषधि उत्पादन गरी महत्वपूर्ण काम गरेको बताउनुभयो ।

मन्त्री गडकरीले अयोध्या–जनकपुर जोड्ने ४३६ किमी रामजानकी सडक र बुद्ध सर्किटमा पर्ने विभिन्न सडकको निर्माण भारत सरकारले तीव्र गतिमा गरिरहेको बताउनुहुँदै यसले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण उपलब्धि हासिल हुने धारणा व्यक्त गर्नुभयो ।

योग कृषि स्वामी रामदेवले योग, आयुर्वेद र सनातन संस्कृतिको विकास गरी नेपाललाई योगको केन्द्रका रुपमा विश्वसामु चिनाउनुपर्ने बताउनुभयो । उहाँले योग कुनै धर्म र सम्प्रदायको मात्र नभई सनातन संस्कृति र जीवन दर्शन भएकाले सबैले योगलाई अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।

आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले नेपालमा विश्व स्तरीय शिक्षा दिने गरी गुरुकुल स्थापना गर्ने सङ्कल्प गर्नुभयो । अबको एक वर्षभित्र नेपालमा कम्तीमा पाँच सय किसिमका आयुर्वेदिक औषधि उत्पादन गर्ने गरी पतञ्जलि आयुर्वेद नेपाल र दिव्य फार्मेसी नेपाल स्थापना गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्र मन्त्री डा.नारायण खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधिलगायत विभिन्न दलका नेता, पतञ्जलि योग समितिका पदाधिकारी, योग प्रशिक्षकको उपस्थिति थियो । रेडियो नेपाल

Facebook Comments