Wed. Sep 25th, 2024

नेपाल र बंगलादेश बीचको आर्थिक सम्बन्धलाई थप सुदृढ पार्नुपर्नेमा जोड

काठमाण्डौं, २०७८ असोज १५ गते शुक्रबार । नेपाल र बंगलादेश बीचको आर्थिक सम्बन्धलाई थप सुदृढ पार्नुपर्नेमा निजीक्षेत्रले जोड दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि बंगलादेशका राजदुत सलाहुद्दिन नोमन चौधरीबीच महासंघ सचिवालयमा भएको भेटवार्तामा महासंघका अध्यक्षले नेपाल र बंगलादेश बीचको आर्थिक सम्बन्धलाई थप सुदृढ पार्नुपर्ने बताउनु भएको हो ।

भौगोलिक दुरीका हिसाबले जम्मा २७ किलोमिटर टाढा रहेको दुई मुलुकको व्यापरिक सम्बन्ध आशातित रुपमा बलियो हुन नसकेको विषयमा छलफल गर्दै आगामी दिनमा यसलाई सुदृढ बनाउन दुबै पक्ष प्रतिबद्ध रहेको पनि महासंघले जनाएको छ । नेपालको कुल व्यापारमा दक्षिण एशियाभित्र बंगलादेश दोस्रो ठुलो व्यापार साझेदार रहेको तथ्यांकले छ । तर पनि व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार पछिल्लो आर्थिक वर्षमा नेपालले जम्मा ५।७ मिलियन डलर बराबर निर्यात र बंगलादेशबाट ९०।६ मिलियन डलर बराबरको आयात गरेको थियो । यसरी हेर्दा दुवै मुलुक बीचको द्विपक्षीय व्यापारमा ठूलो व्यापार घाटा नेपालले व्यहोर्दै आएको छ ।

नेपालले हाल मुसुर दाल, खाद्य प्रिपरेशन, गहुंको चोकर, रंगरोगनका सामग्री, वनस्पति तथा वनस्पतिजन्य वस्तुहरु लगायतका सामग्रीहरु निर्यात गर्दै आएको छ भने जुट, औषधि, विद्धुतीय सामानहरु आयात गर्दछ । २०७८ असारसम्म नेपालमा कृषि तथा वनमा आधारित, उर्जा, आईटी, उत्पादनमुलक, खानी, सेवा र पर्यटन क्षेत्रमा गरी ७४ वटा संयुक्त लगानीका परियोजनाहरू रहेका छन् । व्यापार घाटा कम गर्न तथा आपसी आर्थिक सम्बन्धलाई थप विस्तार गर्न उर्जा, पर्यटन जस्ता क्षेत्रहरूमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा दुई देशले जोड दिएका छन् ।

सो अवसरमा राजदूत सलाहुद्दिन नोमन चौधरीको महासंघ सचिवालयमा स्वागत गर्दै महासंघका अध्यक्ष गोल्छाले बंगलादेश कम विकसित मुलुकबाट स्तरोन्नतिको प्रकृयामा रहेकोले सो सम्बन्धी अनुभव नेपालको लागि उपयोगी हुुने बताउनु भयो । बंगलादेशले छोटो समयमा गरेको आर्थिक विकासको अध्ययन गर्न नेपाली व्यवसायीहरुको टोली स्थलमार्गबाटै भ्रमण गर्ने योजना रहेको बताउंदै अध्यक्ष गोल्छाले बंगलादेशसंग आर्थिक सम्बन्ध मजबुत वनाउन नेपाली निजी क्षेत्र लालायित रहेकाले आर्थिक कुटनीतिमार्फत सहयोग गर्न पनि आग्रह गर्नुभयो । साथै उहाँले व्यापार घाटालाई कम गर्न नेपालबाट उर्जा निर्यात बलियो स्रोत हुने बताउनु भयो ।

भेटमा राजदुतले द्विपक्षीय व्यापार बढ्न नसकेकोले यसलाई गम्भीरतापुर्वक लिई सम्भावनाका पाटाहरु खोज्नुपर्ने बताउनु भयो । उहाँले द्विपक्षीय लगानी सम्झौता हुनुपर्नेमा पनि जोड दिनुभयो ।

स्थलमार्गका साथसाथै हवाई मार्गबाट पनि नेपालको विराटनगर विमानस्थल र बंगलादेशको विमानस्थलबीच सिधा हवाइसेवा संचालन गर्न सकिने सम्भावना औल्याउँदै उहाँले आफनोतर्फबाट आपसी आर्थिक सम्बन्ध विस्तारका हरेक प्रयास र दुर्वै देशका निजी क्षेत्र बीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा राजदूतावासको सदैव सहयोग रहने विश्वास दिलाउनु भयो । भेटवार्तामा महासंघका उपाध्यक्षद्वय अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई तथा कार्यकारिणी समिति सदस्य एवं व्यापार समिति सभापति विजयसिंह वैधको उपस्थिति थियो । कारोबार अनलाईन

Facebook Comments