Wed. Sep 25th, 2024

अबको एक सातापछि मनसुन बाहिरिने

काठमाण्डौं, २०७८ असोज ९ गते शनिबार । जल तथा मौसम विज्ञान विभागले अबको एक सातापछि मनसुन बाहिरिने सम्भावना रहेको जनाएको छ । सो विभागका अनुसार मनसुनी अवधि शुरु भएयता देशभर ११३ प्रतिशत पानी परेको छ ।

मनसुनी औसतको प्रणाली वाहिरिन अझै सात दिन बाँकी रहेपनि औसत बर्षा भन्दा १३ प्रतिशत बढी पानी परेको शाखाका प्रमुख इन्दिरा कँडेलले जानकारी दिनुभयो ।

यस वर्ष सबै भन्दा धेरै जोमसोममा २३० प्रतिशत पानी परेको छ भने काठमाडौंमा १२५, भैरहवामा १५५ र जुम्लामा १२० प्रतिशत पानी परेको छ । यता पूर्वी हिमाली जिल्ला ताप्लेजुङमा भने औसत भन्दा कम ९७ प्रतिशत मात्र पानी परेको शाखाको तथ्याङ्क छ ।

गोरखापत्र अनलाईनका अनुसार जल तथा मौसम विज्ञान विभागले यस वर्षदेखि मनसुनी अवधिको समय परिमार्जन गरेसँगै मनसुनी प्रणाली वाहिरिन औसत समय अनुसार अझै सात दिन बाँकी रहेको महाशाखाले जनाएको छ । अन्य वर्षहरुमा सेक्टेम्वर २३ मा मनसुन वाहिरीने समय मान्दै आए पनि यस वर्ष देखि नौ दिन पछि धकेलेर अक्टोवर २ मा मात्र मनसुनी प्रणाली वाहिरिने औसत समय तोेकेको छ । जुन १० मा मनसुन भित्रिने समय मानिए पनि यस वर्षदेखि तीन दिन पछि सारेर जुन १३ गतेलाई कायम गराएको विभागले जनाएको छ । विभागले प्रत्येक १० वर्षको अवधिमा मनसुनी समयलाई परिमार्जन गर्ने गरेको जनाएको छ ।

राससका अनुसार यस वर्ष मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो । यसपालीदेखि मनसुनको अवधि परिमार्जन गरिएको छ । यसअघि सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ तारिखमा बाहिरिने गरेको थियो । यस वर्षदेखि जुन १३ मा मनसुन भित्रिने र अक्टोबर दुईमा मनसुन बाहिरिने मिति तोकिएको छ ।

यसपाली नेपालमा मनसुन औसत समयभन्दा दुई दिन अगाडि भित्रिएको थियो । मौसमविद्का अनुसार हरेक १०/१० वर्षमा मनसुन भित्रने र बाहिरिने समय परिमार्जन गरिन्छ । आज देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Facebook Comments