Wed. Sep 25th, 2024

डा.नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त

परराष्ट्रमन्त्री डा. नारायण खड्का

काठमाण्डौं, २०७८ असोज ६ गते बुधबार । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. नारायण खड्का नेपालको परराष्ट्रमन्त्री नियुक्त हुनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई नियुक्ति गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत जानकारी गराएकाे छ ।

मङ्गलबार बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा परराष्ट्र मन्त्रालयमा नेपाली काँग्रेसका तर्फबाट मन्त्री बनाउने सहमतिपछि प्रधानमन्त्री देउवाले खड्काको नाम सिफारिस गर्नुभएको हो । राससका अनुसार परराष्ट्रमन्त्री डा. नारायण खड्काको जन्म २००५ साल चैत ७ गते भोजपुरमा भएको हो । वि.सं. २०२३ मा विद्यार्थी आन्दोलनबाट राजनीतिमा लाग्नुभएका उहाँले कांग्रेसको विद्यार्थी फाँट हुँदै पार्टीगत राजनीतिमा सक्रिय रहेर नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुनुभएको छ । वि.सं. २०६४ मा उदयपुर-१ बाट संविधानसभा सदस्य निर्वाचित हुनुभएका उहाँ २०७० सालको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको हो ।

सोही स्थानबाट २०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित डा खड्का अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य हुनुहुन्छ । वि.सं. २०७० मा उहाँ सहरी विकास मन्त्री हुनुहुन्थ्यो भने २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका सल्लाहकार हुनुहुन्थ्यो । उहाँले २०५७ सालमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षका रुपमा काम गरिसक्नुभएको छ । राजनीतिक आन्दोलनका क्रममा काठमाडौँ र विराटनगरमा पटकपटक पक्राउ पर्नुभएका उहाँ विभिन्न समयमा पाँचपटक जेल पनि पर्नुभएको थियो ।

 राजनीतिसँगै अध्ययन र समाजसेवमा विशेष रुचि राख्ने मन्त्री खड्का चार दशकदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । अर्थशास्त्रमा विद्यावारीधि गर्नुभएका उहाँ नेपाली कांग्रेसको प्रभावशाली नेता मानिनुहुन्छ । उहाँ संविधानसभा पदकलगायत विभिन्न पदकबाट सम्मानित भइसक्नुभएको छ ।

Facebook Comments