Wed. Sep 25th, 2024

चीनका राष्ट्राध्यक्ष र प्रधानमन्त्रीद्वारा नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई शुभकामना सन्देश

काठमाण्डौं, २०७८ असोज ४ गते सोमबार । नेपालको राष्ट्रिय दिवसका उपलक्ष्यमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज सेप्टेम्बर २० तारिख नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाई सन्देश पठाउनुभएको छ।

चीन र नेपाल आपसमा विकास र समृद्धि उन्मुख युगौं युगदेखिका मित्र रहेको र रणनीतिक सहयोगात्मक साझेदारी पनि भएको उहाँले आफ्नो सन्देशमा उल्लेख गर्नु भएको छ। दुवै राष्ट्रले केन्द्रीय हित सम्बन्धी मामिलामा एक-अर्काको दृढताका साथ समर्थन गर्दै आएको कुरा पनि राष्ट्राध्यक्ष सी चिन फिङले आफ्नो बधाई सन्देशमा उल्लेख गर्नु भएको छ। विगत एक वर्षमा चीन र नेपाल दुई मुलुकका जनताले हातमा हात मिलाएर कोरोना महामारीको प्रतिरोध गरी “बेल्ट एण्ड रोड” सम्बन्धी सहयोगलाई अटलताका साथ अघि बढाएर चीन-नेपाल परम्परागत मित्रतामा प्रेरक शक्ति थपेको पनि उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ। चीन-नेपाल सम्बन्धको विकासलाई उच्च महत्व दिई नेपालसँग मिलेर दुई देश बीचको सम्बन्धलाई निरन्तर रुपमा नयाँ स्तरमा पुर्‍याउन र दुई देश तथा दुई देशका जनतालाई हित-कल्याण ल्याउन प्रयास गर्ने इच्छा पनि उहाँले बधाई सन्देशमा व्यक्त गर्नु भएको छ।

यसैबीच नेपालको राष्ट्रिय दिवसका उपलक्ष्यमा चीनका प्रधानमन्त्री ली ख छ्याङले आज सेप्टेम्बर २० तारिख नेपालका प्रधानमन्त्री शेर बहादुर देउवालाई बधाई सन्देश पठाउनुभएको छ।

सो बधाई सन्देशमा चीन र नेपाल परम्परागत मैत्रीपूर्ण असल छिमेकी मुलुक रहेको उल्लेख गर्दै कोरोना महामारी देखा परेपछि चीन र नेपालले एक अर्कालाई सहयोग गरी सँगै मिलेर कठिन घडीको सामना गरी दुई देश बीचको मित्रताका लागि नयाँ अध्याय लेखेका उहाँले आफ्नो बधाई सन्देशमा व्यक्त गर्नु भएको छ। नेपालसँगै मिलेर कोरोना महामारीको प्रतिरोध गर्न, “बेल्ट एण्ड रोड” को संयुक्त निर्माण गर्न, विभिन्न क्षेत्रमा रहेका आदान-प्रदान र सहयोगको विस्तार गर्न र चीन-नेपाल रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको निरन्तर विकासलाई अघि बढाउन चीन इच्छुक रहेको पनि प्रधानमन्त्री लीले आफ्नो बधाई सन्देशमा अभिव्यक्त गर्नु भएको छ। सीआरआई

Facebook Comments