Wed. Sep 25th, 2024

ओकस: सुरक्षा सम्झौतामा असन्तुष्ट फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट राजदूत फिर्ता गर्ने

काठमाण्डौं, २०७८ असोज २ गते शनिबार । यूके, अमेरिका र अस्ट्रेलियाबीच भएको सुरक्षा सम्झौताको विरोधमा फ्रान्सले अमेरिका र अस्ट्रेलियामा रहेका आफ्ना राजदूतहरूलाई फिर्ता बोलाउने तयारी अघि बढाएको छ।

फ्रान्सले राजदूतहरूलाई छलफलका लागि फिर्ता बोलाउन लागिएको जनाएको छ। फ्रान्सका विदेश मन्त्रीले यसलाई “असाधारण परिस्थितिको असाधारण निर्णय” भन्नुभएको छ।

अस्ट्रेलिया, यूके र अमेरिका संलग्न ‘ओकस’ भनिने त्रिदेशीय गठबन्धनले अस्ट्रेलियालाई परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउन प्रविधि उपलब्ध गराउने सम्झौता गरेका हुन्।

सम्झौतासँगै अस्ट्रेलियाले पनडुब्बी खरिद गर्ने फ्रान्ससँगको अर्बौँ डलरको सम्झौता खारेज हुने जनाएपछि प्यारिस रुष्ट बनेको छ। दक्षिणी चीनको समुद्रमा चिनियाँ प्रभाव कम गर्ने कदमको रूपमा यो सम्झौतालाई हेरिएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडन, यूकेका प्रधानमन्त्री बोरिस जोनसन र उहाँका अस्ट्रेलियन समकक्षी स्कट मरिसनले बुधवार घोषणा गरेको सम्झौताबारे फ्रान्सलाई केही घण्टाअघि मात्रै जानकारी दिइएको थियो।

फ्रान्सका विदेशमन्त्री जाँ यिभ ल द्रियाँले शुक्रवार जारी गरेको एक वक्तव्यमा सम्झौतालाई “पछाडिबाट हानिएको छुरा” सँग तुलना गरिएको छ। वक्तव्यमा उहाँले राष्ट्रपति एमानुएल माक्रोँको आग्रहमा राजदूतहरू फिर्ता बोलाउन लागिएको उल्लेख गर्नुभएको छ ।

“हाम्रा सहयोगी र साझेदारबीचको अस्वीकार्य व्यवहारले हाम्रा सहयोगीहरूको निम्ति हामीसँग भएको दृष्टि र युरोपका लागि इन्डो-प्यासिफिक क्षेत्रमा हाम्रो साझेदारी प्रभावित गरेको छ,” ल द्रियाँले सम्झौताबारे भन्नुभएको छ ।

सहयोगी देशहरूबीच राजदूत फिर्ता बोलाउने कार्य निकै अस्वाभाविक मानिन्छ। फ्रान्सले यी दुई राष्ट्रबाट सम्भवतः पहिलो पटक आफ्ना राजदूत फिर्ता बोलाएको ठानिएको छ।

शुक्रवारका लागि तय गरिएको अमेरिका र फ्रान्सबीच सहकार्यको स्मरणमा मनाइने एउटा उत्सव वाशिङ्टनस्थित फ्रान्सेली कूटनीतिज्ञले यसअघि नै स्थगित गरिसकेका थिए।फ्रान्सलाई ठूलो आर्थिक क्षति पुग्नेगरी अस्ट्रेलियाले चालेको कदमबाट प्यारिस क्रुद्ध भएको छ। बीबीसी

Facebook Comments