Wed. Sep 25th, 2024

अफगानिस्तानमा तालिबानले महिला मन्त्रालयको नाम मेटेर सदाचार र दुष्कर्म मन्त्रालय राख्यो

फाइल फोटो

काठमाण्डौं, २०७८ असोज २ गते शनिबार । तालिबानले अफगानिस्तानमा महिला मन्त्रालय हटाएर गरेर त्यसको साटो कडा धार्मिक मान्यताहरू कार्यान्वयन गराउने निकाय राखेको बताइएको छ। शुक्रवार तालिबानले महिला मन्त्रालयको नाम मेटेर सदाचार र दुष्कर्म मन्त्रालयको नाम राखेका थिए।

सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा महिला कर्मचारीहरूले कार्यालयबाहिर आफूहरूलाई काममा फर्काउन तालिबानसँग अनुनय गरिरहेको देखिन्छ। सन् १९९० को दशकताका तालिबान शासन अवधिमा उक्त मन्त्रालयले कठोर इस्लामिक नियमहरू पालना गराउनुका साथै महिलाहरूमाथि कडा प्रतिबन्धहरू लगाएको थियो।

महिला मन्त्रालयको नाम मेटिँदै गरेको दृश्य

निरन्तरको सङ्घर्षपछि विगत २० वर्षमा अफगान महिलाहरूले आधारभूत अधिकारहरू पाएका थिए। तर पुरुषहरूले मात्र नेतृत्व गरेको तालिबान अन्तरिम सरकारले आफूहरूको पाएको अधिकार फेरि कटौती गर्ने डर महिलाहरूमा छ।

काबुलस्थित बीबीसीका प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिज डूसे अफगानिस्तानमा आएको परिवर्तन बुझेर अघि बढ्ने वाचा गरेको भए पनि तालिबानको कामगराइ फरक देखिएको बताउनु हुन्छ ।

असन्तुष्टिको स्वरलाई दमन गरिएको, हिंसाको माध्यमबाट महिला र किशोरीसहित नागरिकहरूलाई विभिन्न प्रतिबन्ध लगाइएको र समाजमा अविश्वास तथा डर फैलाइएको भन्दै यसअघि पनि मानवाधिकारवादी समूहहरूले सदाचार र दुष्कर्म मन्त्रालयको विरोध गरेका थिए।

तर तालिबानका सदस्यहरूले यो संस्थाको प्रतिरक्षा गर्दै आएका छन्।

“यसको मुख्य उद्देश्य नै इस्लामको सेवा हो। त्यस कारण पनि सदाचार र दुष्कर्म मन्त्रालय राख्न अनिवार्य छ,” तालिबानका एक सदस्य मोहम्मद युसुफले न्यूयोर्क पोस्टलाई भन्नुभयो ।

काबुलको परिसरमा राखिएको नयाँ बोर्डअनुसार मन्त्रालयको पूरा नाम सदाचारको प्रवर्धन र दुष्कर्मको नियन्त्रण मन्त्रालय हो।

यो मन्त्रालय तालिबानको पहिलो शासनकालभन्दा अघिबाटै अस्तित्वमा थियो। तर तालिबानले सन् १९९६ देखि २००१ बीचको आफ्नो शासनकालमा यसको विस्तार गर्‍यो।

यो मन्त्रालयको जिम्मा शरिया कानुन भनिने तालिबानले व्याख्या गर्दै आएको कठोर इस्लामिक कानुन कार्यान्वयनका लागि सडकमा कथित नैतिकता प्रहरी परिचालन गर्नु थियो।

पुरुष अभिभावकबिना घरबाहिर निस्किएका र उनीहरूको व्याख्यामा “अशिष्ट” पहिरन लगाएका महिलाहरूलाई कुटपिट गरेपछि यो प्रहरी सबैतिर चिनिएको थियो।

महिलाहरूले प्राथमिक तहभन्दा माथि पढ्न नपाउने नियम तालिबानले फेरि दोहोर्‍याउन लागेको बताइएको छ। यसअघि यो मन्त्रालय रहँदा सङ्गीत र नृत्य लगायतका मनोरञ्जनमा रोक थियो भने बुद्धिचाल खेल्न र चङ्गा उडाउन पनि प्रतिबन्ध लगाइएको थियो।

प्रार्थनाको समय कडाइका साथ पालना गरिनुपर्थ्यो भने पुरुषहरूलाई दाह्री पाल्न अनिवार्य गरिएको थियो। पश्चिमा शैलीको कपाल काट्न पनि अनुमति थिएन।

नियम उल्लङ्घन गर्ने जोसुकैलाई कसुर हेरी कोर्रा लगाउने, कुट्ने, हातखुट्टा काटिदिने र सार्वजनिक स्थानमा फाँसी दिनेसम्मको सजाय दिइन्थ्यो।

काबुलमा रहेका दुई तालिबान सदस्यहरूले वाशिङ्टन पोस्टसँगको कुराकानीमा तालिबानले पहिलेकै जस्तो बल प्रयोग गर्ने कल्पना समेत आफूहरूले नगरेको बताए। उनीहरूले यस्ता नियमहरू कार्यान्वयन गराउन प्रहरी र लडाकुहरू परिचालन नहुने आफूहरूको अपेक्षा रहेको बताए। बीबीसी

Facebook Comments