Tue. Sep 24th, 2024

वरिष्ठ जनगायक जेबी टुहुरेको निधन

- ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’

‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँदो छ, लाखौँका लागि उजाड छ यो देश मुठ्ठीभरिलाई त स्वर्ग छ’

काठमाण्डौं, २०७८ भदौं १० गते बिहीबार । वरिष्ठ जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । उहाँको ७८ वर्षको उमेरमा आज विहान बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

मंगलबार कलंकीस्थित घरमा लडेपछि उहाँलाई बयोधा अस्पताल लगिएको थियो । उहाँलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दिर्घरोग समेत थियो । उपचारमा संलग्न चिकित्सकले उहाँलाई ‘स्ट्रोक’ भएको बताएपछि उहाँको निरन्तर उपचार भईरहेको थियो ।

वि.सं. २००१ साल कात्तिक १५ गते पूर्वी नेपालको धरानमा जन्मनुभएका टुहुरेले वि.सं. २०२४ सालदेखि जनताको गीत गाउन थाल्नुभएको थियो ।

‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर’ बोलको गीत उहाँको सबैभन्दा चर्चित गीत हो । पञ्चायती निरंकुश व्यवस्थामा जनतालाई न्याय, मुक्ति, समानता र प्रजातन्त्रको पक्षमा लाग्न उत्प्रेरित गर्ने झण्डै १ सय ५० वटा भन्दा बढी गीत टुहुरेले गाउनु भएको छ । आमा,दिदीबहिनी हो…..बोलको गीत उहाँले वि.सं.२०३४ सालदेखि गाउँदै आएको सबैभन्दा चर्चित गीत हो । टुहुरेको ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँदो छ, लाखौँका लागि उजाड छ यो देश मुठ्ठीभरिलाई त स्वर्ग छ’ भन्ने गीत पनि उत्तिकै चर्चित छ ।

सुनसरीको धरान घर भएका टुहुरेको वास्तविक नाम जुठबहादुर खड्गी हो । जेबी टुहुरेले दशर्कौसम्म विराटनगरलाई कर्मथलो बनाएर जनवादी गीतकै माध्यमबाट जनतालाई पञ्चायती व्यवस्थाको विरुद्ध क्रान्ति गर्न उर्जा भर्नु भएको थियो । त्यसैगरी २०६२/६३ को जनआन्दोलनमा पनि उहाँले उत्तिकै मेहनत गरेर जनतालाई गणतन्त्रको पक्षमा लड्न प्रेरित गरिरहनु भयो ।

उहाँ दोस्रो संविधानसभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बन्नुभएको थियो । २०७५ सालमा उहाँको नाममा जेबी टुहुरे फाउण्डेसन स्थापना गरिएको छ ।

वि.सं. २०२८ देखि सुरु भएको झापा विद्रोह र त्यसपछि सिर्जना भएको राजनीतिक अवस्थाले धेरैजसो नेता, कार्यकर्ता विस्थापित भए । टुहुरे भने त्यतै गाउँगाउँमा गीत गाउँदै लुकीलुकी हिँड्नुभयो । उहाँ त्यति बेला कोशी प्रान्तीय परिषदमा सङ्गठित हुनुहुन्थ्यो । पञ्चायतकालमा आफ्ना अधिकारको कुरा गर्नु नै अपराधजस्तो ठानिन्थ्यो । त्यसै बेला गीत गाएर मानिसको अधिकारको कुरा गर्नु कति जोखिमपूर्ण थियो होला ? उहाँले सुनाउनुभएको थियो । धरानको सैनिक भवनमा विसं २०३३ मा पहिलो पटक ‘आमा दिदीबहिनी हो’ भन्ने गीत गाएको उहाँले सुनाउनुभएको थियो । त्यसपछि यो गीत कति पटक गाएँ भन्ने आफैँलाई हेक्का नभएकाे उहाँले बताउनुभएकाे थियाे ।

आफ्नो सम्पूर्ण जीवन तत्कालिन नेकपा माले र पछि नेकपा एमालेलाई समर्पित गर्नुभए पनि उहाँलाई पार्टीले कहिल्यै हेरेन । टुहुरेलाई कुनै राजनीतिक पदको लोभ थिएन तर लोभ थियो मात्र कलाकारको उचित सम्मानको । नेकपा एमाले पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल समक्ष जनसाँस्कृतिक मञ्चका कलाकारहरुले जेबी टुहुरेलाई उचित सम्मान दिन आग्रह गर्दा खनालले भन्नुभएको थियो, कतै कलाकारले पनि राजनीति गर्ने तपाईहरुले त गीत गाएर पो हिड्ने हो त । के को राजनीति गर्नुपर्यो ? आफ्नो जीवनको सम्पूर्ण समय पार्टीमा समर्पित गर्दा समेत टुहुरे र उहाँ जस्ता देश र जनतालाई ब्यूझाउने कलाकारहरुको सम्मान नभएपछि बुढेसकालमा जेबी टुहुरे तत्कालिन एनेकपा माओवादीमा प्रवेश गर्नुभएको थियो ।

उहाँको पार्थीव शरीरलाई आज दिउसो पेरिसडाँडास्थित नेकपा माओवादीको पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखेर त्यसपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार तयारी गरिएको छ । झन्डै आधा शताब्दीभन्दा बढी नेपाली जनवादी गीत–सङ्गीगतमार्फत जनताको बीचमा मुक्ति, स्वतन्त्रता र परिवर्तनको शङ्खनाद गर्ने वरिष्ठ जनगायक टुहुरेको निधनप्रति सामाजिक सञ्जालमा सैयौं मानिसहरुले दुःख व्यक्त गरिरहेका छन् ।

टुहुरे नेपाली वाम-लोकतान्त्रिक आन्दोलनका एक अथक, पुराना र अत्यन्तै निष्ठावान् व्यक्तित्व हुनुहुन्थ्यो । वि.सं. २०२५ सालबाट पूर्व कोशी प्रान्तीय कमिटीमार्फत कम्युनिस्ट पार्टीको सदस्यता लिनुभएका टुहुरेले आफ्नो सिङ्गो जीवन कम्युनिस्ट आन्दोलनमा बिताउनुभयो ।

टुहुरे वि.सं. २०५२ सालदेखि २०५९ सालसम्म राष्ट्रिय जनसांस्कृतिक मञ्चको अध्यक्ष, सांस्कृतिक संस्थानको अध्यक्ष हुँदै २०७० सालमा तत्कालीन माओवादीबाट संविधान सभाको सदस्य बन्नुभएको थियो । त्यस बेला उहाँले व्यवस्थापिका संसद्को श्रम तथा अन्तर्राष्ट्रिय समितिको सभापतिको जिम्मेवारीसमेत निर्वाह गर्नुभएको थियो । त्यसयता टुहुरे लगातार नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकारको जिम्मेवारीमा हुनुहुन्थ्यो । टुहुरेका श्रीमती, एक छोरा र चार छोरी हुनुहुन्छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा ५० वर्षभन्दा धेरै समय समर्पित गर्नुभएका, आमा, दिदीबहिनीहरुमा चेतनाको राँको बाल्ने आदरणीय जनवादी गायक जेबी टुहुरेप्रति भ्वाईस अफ काठमाडौं मिडिया प्रा.लि. हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै उहाँका सोकमा डुब्नुभएका परिवारजन र आफ्न्तजनमा हार्दिक समवेदना ।

Facebook Comments