Mon. Dec 23rd, 2024

प्रदेश एकमा एमालेभित्र सत्ता फेरबदलको कसरत सुरु, भीम आचार्यलाई मुख्यमन्त्री बनाईने

- मुख्यमन्त्री राईको राजीनामा आजै

काठमाण्डौं, २०७८ भदौं १० गते बिहीबार । नेकपा एमालेबाट छुट्टिएर माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) दल गठन गरेसँगै प्रदेश १ को सत्ता-राजनीति तरंगित भएको छ । प्रदेशमा सत्तारूढ एमालेको बहुमत कायम राख्न मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने र प्रदेशसभा सदस्य भीमप्रसाद आचार्यलाई मुख्यमन्त्रीमा शपथ गराउने तयारी थालिएको छ ।

एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्री परिवर्तनका लागि बिहीबार बिहान ११ बजे प्रदेशसभा सचिवालयस्थित दलको कार्यालयमा संसदीय दलको बैठक बोलाइएको बताउनु भयो । ‘दलको बैठकले पार्टीको संसदीय दलको नेतामा भीमप्रसाद आचार्यलाई चयन गर्नेछ,’ उहाँले भन्नुभयो, ‘आचार्यज्यू दलको नेता चयन हुनुभएपछि वर्तमान मुख्यमन्त्री शेरधन राईज्यूले राजीनामा दिने र उहाँलाई मुख्यमन्त्री बनाएर शपथ ग्रहण गराउने तयारीमा छौं ।’

काठमाडौंमा रहनु भएका आचार्यलगायतका प्रदेश सांसदहरू अहिले विराटनगर आउने क्रममा रहेको प्रमुख सचेतक राजभण्डारीले बताउनु भयो ।

९२ सदस्यीय प्रदेशसभामा एमालेका ५१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १र१ जना सांसद छन् ।

एमालेका सांसदमध्ये गुलेफुन खातुन किर्ते कागज मुद्दामा उच्च अदालत विराटनगरले दोषी ठहर गरेपछि फरार छन् ।

दल विभाजनको स्थितिमा प्रदेशसभामा बहुमत कायम राख्न आवश्यक ४६ सांसदलाई एमालेमा रोक्न चुनौती देखिएपछि मुख्यमन्त्री राईले राजीनामा दिएर सहजीकरण गर्न लागेको राजभण्डारीको भनाइ थियो ।

एकीकृत समाजवादीमा खुलेका आठ सांसदलाई अधिकतम चार जनामा सीमित गर्ने रणनीतिसाथ एमालेले मुख्यमन्त्री परिवर्तनको चाल चलेको हो । प्रदेश सांसदहरू राजेन्द्रकुमार राई, राजन राई, सुनीताकुमारी चौधरी, सरिता थापा, कृष्णकुमारी राई, गणेशकुमार काम्बाङ, होमकुमारी साँवा र उपेन्द्रप्रसाद घिमिरे एकीकृत समाजवादीमा लाग्नु भएको छ ।

तीमध्ये चौधरी, थापा, साँवा र घिमिरे भीम आचार्यनिकट मानिएकाले उहाँलाई मुख्यमन्त्री बनाए चार जना यतै फर्कने विश्वासका साथ राईलाई राजीनामा दिन लगाइएको एमालेनिकट एक नेताले बताए ।

एमालेका ६ जना सांसद सावित्रीकुमारी रेग्मी, लीलावल्लभ अधिकारी, यशोदा अधिकारी, बलबहादुर साम्सोहाङ, जीवन घिमिरे र पदमकुमारी गुरुङ अहिलेसम्म तटस्थ हुनुहुन्छ । उहाँहरूलाई पनि समाजवादीतिर जान नदिने रणनीतिसाथ एमाले अघि बढेको छ ।

आचार्य निकट र तटस्थ बसेकाहरू एमालेमै रहँदा पनि एकीकृत समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मीकी पत्नी प्रदेश सांसद सावित्रीकुमारी रेग्मी र झलनाथ खनालनिकट प्रदेश सांसद खिनु लङ्बा लिम्बूले एमालेको साथ छोड्ने निश्चित छ । यसरी हेर्दा राजेन्द्रकुमार, गणेशकुमार, कृष्णकुमारी, राजन, सावित्रीकुमारी र खिनु गरी ६ जना एकीकृत समाजवादीतिरै हुने देखिएको छ ।

सत्ताको अंकगणितका हिसाबले यी ६ जनासहितको विपक्षी गठबन्धन प्रदेश १ मा सरकार बनाउन पर्याप्त हुनेछ । कांग्रेसका २१, माओवादीका १५, जसपाका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र एकीकृत समाजवादीका ६ सांसद जोड्दा सरकार गठनका लागि आवश्यक ४६ संख्या पुग्छ । कान्तिपुर अनलाईन

Facebook Comments