Tue. Sep 24th, 2024

अफगानिस्तानबाट सेना फिर्ता गरेकोमा पछुतो छैन-राष्ट्रपति बाईडेन

काठमाण्डौं, २०७८ साउन २७ गते बुधबार । अफगानिस्तानमा तालिबानले लगातार एकपछि अर्को सहर नियन्त्रणमा लिइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट अमेरिकी फौज फिर्ता गर्ने आफ्नो निर्णयप्रति पछुतो नभएको बताउनु भएको छ ।

यद्यपि बाइडनले उहाँकै शब्दमा “आफ्नो देशका लागि लड्न” अफगान नेताहरूलाई एक हुन आह्वान समेत गर्नुभएको छ । २० वर्षपछि अमेरिकी नेतृत्वको विदेशी फौजले अफगानिस्तान छाडेपछि त्यहाँ देशैभरि हिंसा बढेको छ।

तालिबानले देशका ३४ वटा प्रान्तीय राजधानीमध्ये कम्तीमा ८ वटालाई नियन्त्रणमा लिइसकेको छ। अन्य सहरहरूलाई पनि नियन्त्रणमा लिने कोसिसका साथ उसले लडाइँ जारी राखेको छ। मङ्गलवार ह्वाइट हाउसमा संवाददाताहरूसँग बोल्दै बाइडनले अमेरिकाले अफगानिस्तानसँग गरेको प्रतिबद्धता पूरा गरिरहेको बताउनु भयो।

बाइडनले हवाई सैनिक सहायता, सैनिकहरूलाई तलब र अफगान फौजलाई खाद्यान्न र बन्दोबस्तीका सामानहरू अमेरिकाले प्रदान गरिरहेको बताउनु भयो।

तर उहाँले भन्नुभयो, “उनीहरूले आफ्ना लागि लड्न चाहिँ आफैँ लड्नुपर्छ।” संयुक्त राष्ट्रसङ्घका अनुसार गएको एक महिनाभित्र अफगानिस्तानमा तालिबान र सरकारी फौजबीच भएको लडाइँमा १,००० भन्दा बढी सर्वसाधारण मारिएका छन्।

राष्ट्रसङ्घको बालबालिबकासम्बन्धी नियोग युनिसेफले यसै साता बालबालिकामाथि हुने अत्याचार दिनैपिच्छे बढिरहेको बताएको थियो। मङ्गलवार तालिबानले थप दुईवटा प्रान्तीय राजधानीहरू फराह सहर र पुल-ए-खुम्री आफ्नो नियन्त्रणमा लिएको छ।

अधिकारीहरूका अनुसार तालिबानले बाग्लान प्रान्तको राजधानी पुल-ए-खुम्रीस्थित गभर्नर कार्यालयको मुख्य परिसरमा आफ्नो झण्डा फहराएको छ। उक्त सहर राजधानी काबुलबाट २०० किलोमिटर मात्र टाढा छ। बीबीसी

Facebook Comments