Sat. May 4th, 2024

बक्सिङमा २ दशकपछि नेपाललाई २ स्वर्ण

काठमाडौं, २०७६ मंसिर २३ गते सोमबार ।

दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले दुई दशकपछि स्वर्ण पदक जित्न सफल भएको छ। जारी १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत सोमबार भएको खेलमा नेपालका मिनु गुरुङ र भूपेन्द्र थापा मगरले स्वर्ण जित्नु भएको छ।

महिला ५४ केजीको फाइनलमा मिनु गुरुङले भारतीय बक्सर शिक्षालाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल हुनुभयो। उहाँले भारतीय खेलाडीलाई यूनानोमस डिसिजनको आधारमा हराउदै स्वर्ण पदक प्राप्त गर्नुभएको हो। हारसंँगै भारतीय खेलाडी रजतमा खुम्चिए। काश्य भने श्रीलंकाकी सजीवनी मुथुथान्तथ्री पताबेन्डिगे र बंगलादेशका ओनिता इस्लामले जित्नु भयो।

त्यस्तै ६४ केजीको फाइनलमा नेपालका भूपेन्द्र थापामगरले पनि सागको पुरुष बक्सिंगमा २० वर्षपछि पहिलो पटक नेपाललाई स्वर्ण पदक दिलाउन सफल हुनुभयो। उहाँले भारतका मनिष कौशिकलाई अंकको आधारमा हराउँदै साग बक्सिंगमा २ दशक लामो स्वर्णको खडेरीलाई समाप्त पार्नु भएको हो । यसअघि सन् १९९९ मा नेपालमा नै सम्पन्न सागको आठौ संस्करणमा नेपालका लागि दुई दाजुभाइ रामचन्द्र थापामगर र प्रकाश थापामगरले स्वर्ण जित्नु भएको थियो। काश्य भने बंगलादेशमा अल अमिन मोहमद र श्रीलंकाका दिनिदु दु पोन्ननविला भिडानालागेले प्राप्त गर्नुभयो।

सेतोपाटी अनलाईनका अनुसार सोमबार भएको ८ वटा तौल समूहको फाइनलमा भने भारतीय मुक्केबाजहरुको दबदबा रह्यो । महिला ४८ केजीको फाइनलमा भारतकी कलाईभानी श्रीनिभासनले नेपालकी ललिता महर्जनलाई स्पिलिट डिसिजनको आधारमा हराउँदै स्वर्ण हात पारिन् । हारसँगै ललिताले रजत पदक प्राप्त गर्नुभयो । काश्य भने भूटानका ल्हामो टान्डिन र नाडिका पुष्प रनसिंघे अराचिगेले प्राप्त गर्नुभयो।

त्यस्तै महिला ६० केजीमा नेपालकी संगीता सुनार पनि भारतीय बक्सरसँग स्पिलिट डिसिजनको आधारमा पराजित हुनुभयो। हारसँगै संगीताले पनि नेपालका लागि रजत पदक जित्नु भयो। काश्य भने श्रीलंकाकी केशानी हंसिकाले प्राप्त गर्नुभयो

सोमबार भएको पुरुष ४९ केजीको फाइनलमा भारतका विनोद तनवरले भूटानका टाशी वांग्दीलाई हराउँदै स्वर्ण हात पार्नुभयो। हारसँगै भूटानले जारी १३औं सागमा बक्सिंगमार्फत् पहिलो रजत पदक जित्न सफल भयो । काश्य भने नेपालका सुशील थापामगर र बंगलादेशका होसेन मोहमद सोजिबले प्राप्त गर्नुभयो । यसैगरी पुरुष ५६ केजीको फाइनलमा भारतका सचिनले बंगलादेशका मोहमद रोबिन मियालाई अंकको आधारमा हराउँदै स्वर्ण हात पार्नुभयो। काश्य भने पाकिस्तानका नकिबुल्लाह र नेपालका पूरन राईले जित्नु भयो।

Facebook Comments