Sat. Jul 27th, 2024

संसद विघटन विरुद्ध प्रचण्ड नेपाल समूहद्वारा देशभर विरोध प्रदर्शन

काठमाडौं, २०७७ पुस १४ गते मंगलबार

संसद विघटनविरुद्ध नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहले मंगलबार देशभर विरोध प्रदर्शन गरेको छ ।

काठमाडौं उपत्यकामा भएको प्रदर्शनमा जनसहभागिता उत्साहजनक रहेको केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिनुभयो ।

यो समूहले मंगलबार बागमती प्रदेशबाहेक सबै जिल्लाहरु जिल्लास्तरीय विरोधसभा गरेको छ । काठमाडौंमा केन्द्रित गरिएको बागमती प्रदेश स्तरीय प्रदर्शन राजधानीका विभिन्न स्थानबाट शुरु भएर प्रदर्शनीमार्ग पुगी सभामा परिणत भएको थियो । यो सभालाई शीर्षनेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले सम्बोधन गर्नु भएको थियो ।

पार्टी विभाजनसँगै प्रधानमन्त्री केपी ओलीवरुद्ध राजनीतिक, संवैधानिक र सडक संघर्षमार्फत दबाब बनाउने रणनीति लिएको नेकपाको दाहाल-नेपाल समूहले ओलीको राजनीतिक निष्ठा र उनको नियतमाथि प्रश्‍नैप्रश्‍न उठाएको छ । दुई वर्ष कार्यकाल बाँकी रहँदै प्रधानमन्त्री ओलीले पुस ५ मा संसद् विघटन गरेपछि विभाजित नेकपाको दाहाल नेपाल समूह ओलीविरुद्ध आक्रमक रुपमा प्रस्तुत हुँदै प्रहारैप्रहारमा उत्रेको छ ।

यसै क्रममा राजधानीमा भएको विरोध प्रदर्शनमा पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीको लोकतन्त्रप्रतिको निष्ठा र राजनीतिक चरित्रमाथि प्रश्न उठाउनु भएको छ । पार्टी विभाजन नहुँदै दाहालले तयार पारेको राजनीतिक प्रस्तावमा पनि ओलीमाथि केही प्रश्न थिए ।

पूर्वसहकर्मीसमेत रहेका तीनपूर्व प्रधानमन्त्रीले एउटै मञ्‍चबाट ओलीमाथि शब्दवाण प्रहार गरेका छन् । यतिसम्म कि मंगलबारको कार्यक्रममा अध्यक्ष नेपालले त सार्वजनिक रुपमै प्रधानमन्त्री ओलीको कार्यशैली पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना गर्नुभयो। अर्का अध्यक्ष दाहालले ओलीमा निरंकुश तानाशाही शैली देखिएको र उनले देशलाई भड्खालो हाल्न खोजेको आरोप लगाउनु भयो । वरिष्ठ नेता खनालले ओली लोकतन्त्रविरोधी नेता भएको बताउनु भयो ।

Facebook Comments