Sat. Jul 27th, 2024

उधौली तथा ‘तमु ल्होसार’ पर्वको उपलक्ष्यमा राष्ट्रपति भण्डारीद्वारा शुभकामना

काठमाडौं, २०७७ पुस १५ गते बुधबार

राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको उधौली तथा गुरुङ समुदायको ‘तमु ल्होसार’ पर्वका अवसरमा स्वदेश र विदेशमा रहेका सबै नेपालीमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना दिनुभएको छ ।

राष्ट्रपति भण्डारीले अलग-अलग दिनुभएको शुभकामना सन्देशमा कोभिड-१९ महामारीका कारण उत्पन्न असहज परिस्थितिमा पूर्व सावधानीका उपायहरूको अवलम्बन गरी चाड मनाउन हुन सबैमा आह्वान पनि गर्नुभएको छ । उधौली पर्वको अवसरमा पितृ र प्रकृतिपूजक किराँत समुदायभित्रका राई, लिम्बू, सुनुवार र याख्खाहरूले मानिस, जीवजन्तु तथा पशुपक्षीहरू लेकबाट बेँसीतिर बसाइ सर्ने समयमा पाकेको नयाँ अन्नबाली आफ्ना पितृलाई चढाउने गर्दछन् । साथै राम्रो फसलका लागि धन्यवाद दिँदै अन्नबाली फारु होस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गर्दछन् ।

यस पर्वमा किराँत महिला र पुरुषहरू खुला आकाशमुनि ढोल र झ्याम्टा बजाएर चराचुरुङ्गी, जीवजन्तुको हाउभाउ एवं मानिसका विभिन्न क्रियाकलापको अनुकरण गर्दै सामूहिक रूपमा ‘साकेला’ नृत्य गर्ने परम्परा छ । यसैगरी गुरुङ समुदायले आजको दिन विशेष हर्षका साथ पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व मनाउँदैछन् । यस पर्वमा गुरुङ समुदायले आफन्तजन र नाताकुटुम्बलाई घरमा बोलाएर भोज खुवाउनुका साथै घाटु, सोरठी, चुड्का र कौडाजस्ता प्रचलित नृत्यहरू नाच्दै रमाइलो गर्ने परम्परा रहेको पाइन्छ ।

यसैगरी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तमु (गुरुङ) जातिकोे ‘तमु ल्होसार’, किराँतहरूको उधौली पर्व, ज्यापू समुदायको महìवपूर्ण चाड योमरी पुन्हि (ज्यापू दिवस) र धान्य पूर्णिमाका अवसरमा सबै नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

Facebook Comments