Sat. Jul 27th, 2024

दाहाल-नेपाल पक्षका ७ मन्त्रीद्वारा राजीनामा

- संसद विघटनको प्रभाव मन्त्रीपरिषदमा

काठमाडौं, २०७७ पुस ५ गते आईतबार

प्रतिनिधिसभा विघटन गरिएकोमा आपत्ति प्रकट गर्दै ७ जना मन्त्रीहरुले राजीनामा दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरिएकोमा आपत्ति जनाउँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह पक्षका ७ मन्त्रीले राजीनामा दिएका हुन् । पूर्वमाओवादी खेमाका गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा दिनु भएको छैन ।

सामुहिक राजीनामा दिनुहुनेमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन, कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव र खानेपानी तथा सरसफाई मन्त्री विना मगर  हुनुहुन्छ ।

सामूहिक राजीनामा दिँदै जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०७७ पुस ५ गतेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीद्वारा प्रस्तुत प्रतिनिधिसभाको विघटनको प्रस्तावमा हाम्रो असहमति रहेको सर्वविदित नै छ ।

त्यसलाई रोकन हाम्रो तर्फबाट अधिकतम प्रयास भएको पनि सार्वजनिक नै छ । गैरसंवैधानिक, अलोकतान्त्रिक, जनादेशविपरीत तथा राजनीतिक मूल्य र स्थितरताको प्रतिकूल हुने गरी चालिएको कदमप्रति गम्भीर असहमति जनाउँदै हामीले मन्त्री पदबाट राजीनामा गरेका छौं ।’

मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नु भएको हो । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटन गरिएको जनाएको छ ।

Facebook Comments