Mon. Oct 7th, 2024

इजरायली धम्कीपछि इरानका तेलमन्त्रीद्वारा प्रमुख स्थलको भ्रमण   

तेहरान, २०८१ असोज २० गते आइतबार ।  इरानको तेल सुविधा जस्ता महत्त्वपूर्ण स्थललाई लक्षित गर्ने सम्भावित इजरायली हवाई आक्रमणको चिन्ताका बीच इरानका तेलमन्त्री मोहसेन पाकनेजादले आइतबार खार्ग टापूमा रहेको एउटा तेल सुविधाको भ्रमण गर्नुभएको छ ।

इरानले यस साता आफ्नो कट्टर शत्रुमाथि क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले ‘जवाफी कारवाहीको तयारी गरिरहेको’ एक इजरायली अधिकारीले बताएपछि यो भ्रमण भएको हो ।

सेप्टेम्बर २७ मा बेरुतमा भएको आक्रमणमा हिजबुल्लाहका नेता हसन नसरल्लाह र इरानी जनरल अब्बास निलफोरोसनको मृत्युको बदला लिन दुई सय क्षेप्यास्त्र प्रहार गरिएको इरानको रिभोल्युसनरी गार्ड कप्र्सले बताएको थियो ।

एएफपीका अनुसार  पाकनेजादले बिहान खार्ग टापूको तेल सुविधामा पुगेर कर्मचारीहरूसँग भेट गर्नुभएको उहाँको मन्त्रालयको समाचार एजेन्सी शानाले बताएको छ । “हामी हाम्रा शत्रुहरूले सङ्कट उत्पन्न गर्नेछन् भन्ने कुराले डराउँदैनौँ र यस क्षेत्रको भ्रमण एउटा सामान्य व्यावसायिक भ्रमण हो”, उहाँले सरकारी टेलिभिजनमा भन्नुभयो ।

खाडीमा अवस्थित खार्ग टापू इरानको सबैभन्दा ठूलो कच्चा तेल निर्यात टर्मिनल भएको स्थान हो ।

इरानले मङ्गलबार आफ्नो क्षेत्रमा गरेको क्षेप्यास्त्र आक्रमणको जवाफ तयार गरिरहेको इजरायलको घोषणापछि पाकनेजादको भ्रमण भएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इरानका तेल सुविधाहरूमा सम्भावित आक्रमणबारे इजरायलसँग ‘छलफल गरिरहेको’ बताउनुभएको थियो । उक्त भनाइपछि तेलको मूल्य बढेको थियो ।

तर शुक्रबार बाइडेनले इजरायललाई इरानका तेल सुविधाहरूमा आक्रमण नगर्न बरु ‘अन्य विकल्प’ खोज्न आग्रह गर्नुभएको थियो ।

इजरायली धम्कीपछि इरानका विदेशमन्त्री अब्बास अराघचीले शनिबार इजरायलले इरानमाथि आक्रमण गरे ‘इरानबाट समानुपातिक र समान प्रतिक्रिया हुने र अझ बलियो’ हुने चेतावनी दिनुभएको थियो ।

Facebook Comments