बेलायती प्रधानमन्त्री बर्नहमसँग पहिलो भेटका लागि जेलेन्स्की लन्डनमा
पोर्टस्माउथ, बेलायत । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बेलायतका नवनिर्वाचित प्रधानमन्त्री एन्डी बर्नहमसँग पहिलो औपचारिक भेटवार्ताका लागि सोमबार बेलायत आइपुग्नुभएको छ । उहाँको यो भ्रमण मंगलबार अमेरिकाको वासिङ्टन भ्रमणअघि भएको हो, जहाँ रुससँगको चार वर्षदेखि जारी युद्ध अन्त्यका सम्भावनाबारे छलफल हुने अपेक्षा गरिएको छ ।
रुस र युक्रेनबीच ड्रोन तथा मिसाइल आक्रमण तीव्र भइरहेका बेला जेलेन्स्कीले बेलायतसँग थप रक्षा सहयोग र हवाई सुरक्षा प्रणालीको आवश्यकता औँल्याउने अपेक्षा गरिएको छ । अमेरिकी नेतृत्वमा भइरहेको शान्ति वार्ता प्रभावहीन बन्दै जाँदा वासिङ्टनको ध्यान इरानतर्फ मोडिएको छ ।
जेलेन्स्की र प्रधानमन्त्री बर्नहमले दक्षिणी सहर पोर्टस्माउथस्थित नौसैनिक अड्डाको भ्रमण गरी युक्रेनी सैनिकलाई तालिम दिइरहेका बेलायती सुरक्षाकर्मीसँग पनि भेट गर्ने कार्यक्रम छ ।
डाउनिङ स्ट्रिटका अनुसार बर्नहमले युक्रेनप्रतिको बेलायतको समर्थन अटल रहने प्रतिबद्धता दोहोर्याउनुहुनेछ । उहाँले युक्रेनका लागि दीर्घकालीन र न्यायपूर्ण शान्ति स्थापित नभएसम्म बेलायत पछि नहट्ने स्पष्ट पार्नुभएको छ ।
बेलायत पुगेपछि जेलेन्स्कीले दुई देशबीचको सम्बन्धलाई इतिहासकै सबैभन्दा बलियो भन्दै प्रशंसा गर्नुभयो । यसैबीच लन्डनले ‘स्टोन क्लक’ नामक नयाँ युद्ध-परीक्षित विद्युतीय अवरोध (इलेक्ट्रोनिक जामिङ) प्रणालीबारे जानकारी पनि युक्रेनसँग साझा गर्ने घोषणा गरेको छ । ड्रोनमा जडान गर्न सकिने उक्त प्रणालीले रुसी हवाई प्रतिरक्षा प्रणालीलाई लक्ष्य पहिचान गर्न कठिन बनाउने दाबी गरिएको छ ।
दुई देशबीच भएको १०० वर्षे साझेदारी सम्झौताअन्तर्गत विकसित हजारौँ यस्ता उपकरण युक्रेनलाई उपलब्ध गराइसकिएको बेलायतले जनाएको छ । भविष्यमा यसको ठूलो मात्रामा उत्पादन गरी बेलायतको नयाँ पुस्ताको लामो दूरी आक्रमण क्षमतामा समेत प्रयोग गर्ने योजना छ ।
राष्ट्रपति जेलेन्स्कीले आइतबार बेलायतसँग उत्पादन र प्रविधि साझेदारीमा आधारित नयाँ ‘ड्रोन सम्झौता’ गर्न चाहेको बताउनुभएको थियो । उहाँले युक्रेनसँग पर्याप्त मिसाइल नभएको स्वीकार गर्दै रुसको बढ्दो ब्यालिस्टिक मिसाइल आक्रमण सामना गर्न थप हवाई सुरक्षा प्रणाली आवश्यक रहेको दोहोर्याउनुभयो ।
सन् २०२२ फेब्रुअरीमा रुसले पूर्ण आक्रमण सुरु गरेयता बेलायतले युक्रेनलाई २५ अर्ब पाउन्ड बराबरको सहयोग उपलब्ध गराइसकेको छ । यसमध्ये १६ अर्ब पाउन्ड प्रत्यक्ष सैन्य सहायता रहेको डाउनिङ स्ट्रिटले जनाएको छ । एएफपी

