Tue. Oct 1st, 2024

घट्टेपाँखा-धेद्रे सुरुङ छिचोलियो

- काठमाण्डू-तराई-मधेस द्रूतमार्ग

काठमाण्डू, २०८१ साउन २१ गते सोमबार । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव र रणनीतिक महत्वको काठमाण्डू-तराई-मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजना अन्तर्गत घट्टेपाँखा–धेद्रे सुरुङको स्वीच थिचेर छिचोलिएको घोषणा गर्नुभएको छ ।

मकवानपुरको बकैया गाउँपालिका-१२ धेद्रेमा आज एक समारोहबीच प्रधानमन्त्री ओलीले काठमाण्डू-निजगढतर्फको एक दशमलव सात सय २८ किमी लामो सुरुङ छिचोलिएको घोषणा गर्नुभएको हो । निजगढ-काठमाण्डूतर्फको एक दशमलव छ सय ५३ किमी धोन्द्रे सुरुङ भने गत जेठ ११ गते नै छिचोलिइसकेको छ । धेद्रे सुरुङ छिचोलिएसँगै प्याकेज नं दुईअन्तर्गतका सबै सुरङ खोल्ने काम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले आयोजनाको हालसम्मको निर्माण प्रगति र चुनौतीबारे प्रधानमन्त्री ओलीलाई अवगत गराउँदै आयोजनाको भौतिक प्रगति ३५ दशमलव ९८ प्रतिशत रहेको जानकारी दिनुभएको थियो । लेनडाँडामा रहेको निजगढ-काठमाण्डूतर्फको एक दशमलव ६ सय १२ किमी र काठमाण्डू-निजगढतर्फको एक दशमलव ६ सय ३३ किमी सुरुङ यसअघि नै खनिसकिएको छ । तीन दशमलव तीन सय २२ किमीको निजगढ-काठमाण्डूतर्फको महादेवटार सुरुङ हालसम्म दुई दशमलव २९ किमी र तीन दशमलव तीन सय ८६ किमीको काठमाण्डू-निजगढतर्फको दुई दशमलव २ सय ८८ किमी सुरुङ खनिसकिएको छ । सो सुरुङ यसैवर्ष सम्पन्न गर्नेगरी काम भइरहेको नेपाली सेनाले जनाएको छ ।

 

द्रूतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनालाई १३ प्योकजमा विभाजन गरी निर्माण गरिएको छ । सो आयोजनाको २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाराको निजगढमा शिलान्यास गर्नुभएको थियो । सरकारले २०७४ साउन २७ गते सडक विभागबाट सेनालाई आयोजना हस्तान्तरण गरेको थियो ।
Facebook Comments