Tue. Dec 24th, 2024

पश्चिमसँग सम्बन्ध तोड्दाको लागत २ अर्ब १० करोड डलर : रुसी अन्तरिक्ष एजेन्सी

मस्को, २०८१ साउन २१ गते सोमबार । युक्रेनमा रुसको आक्रमणले पश्चिमसँगको सम्बन्ध तोडिएपछि झण्डै खर्ब ८० अर्ब रुबल (दुई अर्ब १० करोड डलर) नोक्सान भएको रुसको अन्तरिक्ष एजेन्सीले सोमबार बताएको छ ।
रूसको अभियान सुरु भएपछि मस्को विरुद्ध प्रतिबन्धको एक भागका रूपमा पश्चिमी देशहरूले अन्तरिक्ष क्षेत्रमा रोस्कोसमोससँग साझेदारी तोडेका थिए ।  रोस्कोसमोस रूसमा अन्तरिक्ष गतिविधिहरूका लागि समन्वय गर्ने केन्द्र हो ।
इन्टरफ्याक्स समाचार एजेन्सीले रोस्कोसमोस एजेन्सीका उपप्रमुख आन्द्रेई येल्चानिनोभलाई उद्धृत गर्दै भनेको छ, “अमित्र देशहरूद्वारा सम्झौताहरू खारेज गर्दा रोस्कोसमसलाई एक खर्ब ८० अर्ब रूबल खर्च भएको छ ।”
रोकिएको सहयोगमध्ये एक युरोपेली अन्तरिक्ष एजेन्सीसँग मङ्गल ग्रह अन्वेषणका लागि एक योजनाबद्ध संयुक्त अभियानमा सहयोग थियो ।
रोसकोसमोसले फ्रेन्च गुयानाको कोउरो अन्तरिक्ष बन्दरगाहबाट आफ्नो सोयुज रकेटको प्रक्षेपणलाई पनि स्थगित गरेको छ ।
येल्चानिनोभले एजेन्सीले एसिया, अफ्रिका र मध्यपूर्वका देशहरूसँग थप व्यापार गरेर गुमेको राजस्वको पूर्ति गर्ने योजना बनाएको बताउनुभयो ।
रुसको अन्तरिक्ष क्षेत्रले वित्तीय समस्या, भ्रष्टाचार घोटाला र सन् २०२३ अगस्टमा लुना–२५ चन्द्र मोड्युलको नोक्सानी जस्ता असफलताहरूसँग सङ्घर्ष गरिरहेको छ । एएफपी
Facebook Comments