Fri. Sep 27th, 2024

राजनीतिमा विद्यार्थी अग्रसर हुन जरुरी : अध्यक्ष लिङ्देन   

बनियानी (झापा), २०८१ साउन १९ गते शनिबार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक क्षेत्रमा विद्यार्थी अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ । आज राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन कचनकवल झापाको अधिवेशनमा सम्बोधन गर्नुहुँदै अध्यक्ष लिङ्देनले देशलाई सकारात्मक दिशामा अग्रसर बनाउन विद्यार्थीहरू राजनीतिमा प्रवेश गर्नुपर्नेमा जोड दिनुभयो ।

“राजनीति क्षेत्रमा विद्यार्थीको सक्रिय सहभागिता महत्त्वपूर्ण छ, देशको भविष्य विद्यार्थीहरूको हातमा छ, उनीहरूले मुलुकलाई सकारात्मक दिशा दिन सक्छन्”, उहाँले भन्नुभयो ।

राजनीति राम्रो भएमात्र देश विकास र सबैको भविष्य सुन्दर हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तपाईँहरू राजनीतिमा आउनुपर्छ, राजनीतिलाई राम्रो बनाउनुपर्छ ।” योग्य विद्यार्थी राजनीतिमा नआए मुलुकले उन्नति हासिल गर्न नसक्ने उहाँले बताउनुभयो ।

“हाम्रो आमाबुबाको भविष्य बर्बाद भयो, हाम्रो पनि भविष्य बर्बाद भएको छ”, उहाँले भन्नुभयो, “तपाईहरूले पढाइसँगै राजनीतिमा पनि चासो दिन जरुरी छ ।” विद्यार्थीको हकहितका लागि सङ्गठनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुहुँदै उहाँले नयाँ नेतृत्वलाई सफलताको शुभकामना दिनुभयो ।

अधिवेशनले विकास शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनबाट उपाध्यक्षमा युनिसा दङ्गाल, कसिल दङ्गाल र टीकामाया कार्की चयन हुनुभएको छ भने सचिवमा विनोद पोखरेल र सहसचिव सकिला लिम्बू चयन हुनुभएको छ । कोषाध्यक्षको भूमिकामा सलेली राजवंशी चयन भएको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी, सदस्यमा कोपिला राई, अपेक्षा राई, कमला बस्नेत, आशिष ढुङ्गेल, अभिषेक पराजुली, दर्पण लुइँटेल, राजा थापा, अशोक राजवंशी, राजा मण्डल, गोभा कटुवाल, शिल्वती राजवंशी, ममता राजवंशी, र मुकेश राजवंशी चयन हुनुभएको छ । कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य अञ्जरा आलम, राप्रपा जिल्ला सदस्य एवं प्रदेशसभा सदस्य निमसरी राजवंशीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।  रासस

Facebook Comments