Fri. Sep 27th, 2024

‘सुशासन र स्वनियमनबाट सहकारीलाई प्रभावकारी बनाउनुपर्छ’   

महेन्द्रनगर (धनुषा), २०८१ साउन १९ गते शनिबार । मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले विभिन्न सूचकहरूको निरीक्षण तथा विश्लेषण गरी समस्याग्रस्त सहकारीको अवस्था पहिचान र समस्या समाधानका उपाय खोज्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सहकारी बैङ्क लिमिटेडको २२औँ स्थापना दिवसका अवसरमा आज बर्दिवासमा आयोजित ‘सहकारीको वर्तमान अवस्था र भावी कार्यदिशा’ विषयक प्रदेशस्तरीय गोष्ठी एवं सदस्य सम्मान कार्यक्रममा उहाँले सहकारी क्षेत्रलाई मर्यादित, व्यावसायिक, समावेशी एवम् सहभागितामूलक बनाएर अगाडि बढाउनुपर्ने बताउनुभयो । मुख्यमन्त्री सिंहले आवश्यक नियमन र दायित्वबोधका साथ सुशासन कायम गर्न ध्यान दिन सकिए आर्थिक समानता र सामाजिक न्यायको राष्ट्रिय लक्ष्य हासिल गर्न सहकारी क्षेत्रले महत्वपूर्ण योगदान गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो ।

पछिल्ला दिनमा केही सङ्कटग्रस्त सहकारीका कारण समग्र सहकारी क्षेत्र बदनाम भएको भन्नुहुँदै उहाँले सुशासन र स्वनियमनमार्फत सहकारी मूल्य, मान्यता र आदर्श प्रवद्र्धन गरी विश्वसनीयता र प्रभावकारिता वृद्धि गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । “केही सहकारीका कारण समग्र क्षेत्रको नाम सुन्ने बित्तिकै तर्सिने अवस्था आएको छ । अब सहकारका मूल्यमान्यता र आर्दशको अनुसरण गर्दै यस क्षेत्रको विश्वासनीयता बढाउन लागौँ । सार्वजनिक निकाय उत्पादन तथा व्यवसाय क्षेत्रमा प्रत्यक्ष रूपमा सहभागी नहुने र निजी क्षेत्र नाफामूलक क्षेत्रमा बढीजसो आकर्षित हुने हुँदा उत्पादन तथा व्यावसायिक गतिविधिमार्फत राष्ट्रिय अर्थतन्त्रमा सहकारीले पु¥याउँदै आएको योगदान हामीले बिर्सनु हुँदैन । समस्या समाधान गर्दै अगाडि बढ्नुपर्छ”, मुख्यमन्त्री सिंहले भन्नुभयो ।

उहाँले सञ्चालक समिति र सदस्यहरूबीच तालमेल नहुँदा किसानलगायत सर्वसाधारणको निक्षेपदेखि अन्य विषयमा समस्या देखिएको भए पनि ती कुरालाई समाधान गर्न सम्बद्ध निकायहरूलाई प्रतिबद्ध भएर लाग्न निर्देशन दिनुभयो । मुख्यमन्त्री सिंहले अगाडि थप्नुभयो,“ऋण चुक्ता गरिसके पनि धित्तो राखिएका जग्गा फुकुवा नभएको गुनासा आइरहेको छन् । यस विषयमा मैले आधिकारिक व्यक्तिहरूसँग कुरा गर्दा ‘थर्ड पार्टी’ कोल्याट्रलसँग जोडिएका समस्या अन्त्य हुने आश्वासन पाएको छु ।”

कार्यक्रममा सहकारी सदस्यहरूलाई सम्मान गरिएको थियो ।  रासस

Facebook Comments