Mon. Apr 29th, 2024

चाइनिज संस्थाको सहयोगमा वडा नं.१७ मा ह्यान्ड वास स्टेशन सञ्चालन

काठमाडौं, २०७६ चैत २६ गते बुधबार

दुइ चाइनिज संस्थाको सहयोगमा काठमाडौं महानगरपालिका १७ वडा कार्यालयले वडाका विभिन्न स्थानमा ह्यान्ड वास स्टेशन स्थापना गर्न लागेको छ ।

चाइनाको सामाजिक संस्था चाइना फाउन्डेसन फर पभर्टि एल्लेभिएसन (सिएफपिए) र गुडविल फाउन्डेसनको सहयोगमा वडाले ह्यान्ड वास स्टेशनहरु स्थापना गर्न लागेको हो ।

आज कामपा १७ वडा कार्यालयमा दुवै संस्थाका प्रतिनिधिले ह्यान्ड वास स्टेशन स्थापना गर्नको लागि २ सय लिटरका २० वटा पानी ट्याङ्कि र ह्यान्ड वास वडाध्यक्ष नवीन मानन्धरलाई हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा वडाध्यक्ष मानन्धरले निकै साँघुरो वस्तीमा रहेको घना वस्तीलाई स्वच्छ र स्वस्थ रहन यो सहयोगले ठुलो योगदान दिएको बताउनुभयो । यस्तो विषम परिस्थितीमा यो सहयोगले वडालाई ठुलो हौसला मिलेको मानन्धरको भनाई थियो ।

वडा कार्यालयले आजै वडा कार्यालय, धोबिचौरको प्रहरी वृत्त, ठमेल क्वाःबहाल लगायतका स्थानमा ह्यान्ड वास स्टेशन स्थापना गरिसकेको छ भने क्षेत्रपाटी थँहिति, नःघल, क्वाड्व, ढल्को, कुश्ले चौर लगायतका स्थानमा स्थापना गर्ने योजना रहेको मानन्धरले जानकारी दिनुभयो । क्षेत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा.मनोजमान श्रेष्ठको सक्रियतामा ति ह्यान्ड वास स्टेशन सञ्चालन गरिएका हुन् ।

यसको साथै चाइनिज, अमेरीकन, यूरोपियन लगायतका पर्यटकहरुको बसोबास रहेको स्थानहरुमा पनि ह्यान्ड वास स्टेशन स्थापना गर्ने उनको भनाई थियो ।

स्वास्थ्य सम्वन्धी सेवाको साथमा अस्पताल लगायतका स्वास्थ्य सेवाका भौतिक पूर्वाधारहरुको समेत निकै कमी रहेको नेपालमा अहिले संक्रमणको रोकथाम र नियन्त्रण नै महत्वपूर्ण रहेको सिएफपिएका नेपाल कन्ट्रि डाइरेक्टर चाउ ध्रु छियाङले बताउनुभयो ।

समय समयमा साबुन पानीले हात धोइरहनाले पनि संक्रमणको रोकथाममा ठुलो सहयोग पुग्ने भएकोले जनचेतनाका लागि आफुहरुले यो सहयोग गरेको उहाँको भनाई थियो ।

भारतमा संक्रमणको संख्या बढ्दै गइरहँदा नेपालमा जोखिम बढेको अवस्थामा नेपालमा तुरन्तै सक्रिय भइहाल्नुपर्ने सोचसहित आफुहरु अघि बढेको कन्ट्रि डाइरेक्टर छियाङको भनाई थियो ।

सो संस्थाले ललितपुरको मंगलबजार, सानेपा, किर्तिपुर, फर्पिङको साथमा जनकपुरमा पनि ह्यान्ड वास स्टेशन स्थापना गरिसकेको छ ।

चाइनाकै ठुलो मानवीय संस्था सिएफपिए नेपालको पहिलो सक्रिय चाइनिज संस्था हो । समाचार डेक्स अनलाईनबाट

Facebook Comments