Sun. Apr 28th, 2024

लक डाउनको चौथो दिन, मजदुरहरुलाई उद्धारपछि गृह जिल्ला पठाईंदै

काठमाडौं, २०७६ चैत १४ गते शुक्रबार

कोरोना भाइरस (कोभिड-१९) महामारी नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको ‘स्व–कफ्र्यु’ (लक डाउन) को चौथो दिन शुक्रबार मुलुकभरको जनजीवन शान्त र सामान्य रहेको छ ।

गृह मन्त्रालयले लक डाउनका क्रममा गन्तव्य नपुगी अलपत्र परेका विदेशी पर्यटक तथा स्वदेशी नागरिक र मजदुरको उद्धार गरी सम्बन्धित स्थानमा पुर्याई दिने व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको सुरक्षा पदाधिकारीको बैठकले ‘लकडाउन’ कार्यान्वयनको सिलसिलामा देखापरेका केही सानातिना समस्याहरूको यथासिघ्र समाधान गर्न मन्त्रालय तथा मन्त्रालय मातहतका प्रशासन र सुरक्षा निकायहरू निरन्तर क्रियाशील हुने जनाइएको छ ।

अलपत्र परेका पर्यटकको उद्धार
नेपाल भ्रमणमा आएका विभिन्न देशका नागरिक (पर्यटक) हरूलाई हवाई तथा स्थलमार्गबाट उद्धार गरी तीनसय सातजना पर्यटकहरूलाई नेपालस्थित जर्मन दुतावासको व्यवस्थापनमा कतार एयर विमानमार्फत सम्बन्धित मुलुक पठाइएको मन्त्रालयले जनाएको छ ।
मुस्ताङ, कास्की र सोलुखुम्बु लगायत विभिन्न जिल्लामा अलपत्र परेका पर्यटकहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा हवाई तथा स्थलमार्ग प्रयोग गरी काठमाडौँ ल्याइएको छ ।

मजदुर कामदारलाई उद्धारपछि गृह जिल्ला पठाईंदै
यसरी, उद्धार गरिएका पर्यटकहरूलाई काठमाडौँको विभिन्न होटलमा राखिएको प्रवक्ता केदारनाथ शर्माले बताउनुभयो । रुपन्देही, बाँके, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, दैलेख, तेह्रथुमलगायतका जिल्लाहरु अलपत्र परेका कामदारहरूको उद्धार गरी गृह जिल्लासम्म पु¥याई दिने व्यवस्था गरिएको छ ।
लक डाउनका क्रममा आयोजना तथा निर्माण कार्य रोकिदा विभिन्न जिल्लामा कार्यरत मजदुर तथा कामदारहरु अलपत्रमा परेका थिए । उहाँहरूको उद्धारका लागि स्थानीय प्रशासन र प्रहरीलाई तत्कालै व्यवस्था गर्न निर्देशन दिएको छ ।

फोहोर व्यवस्थापन गर्न कामनपालाई निर्देशन
त्यस्तै, काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाका प्रमुख लगायत स्थानीय जनप्रतिनिधसँग छलफल भएको छ । केही दिनदेखि अवरुद्ध फोहोर विसर्जन कार्यलाई सुचारु गराउन महानगरपालिका लगायत स्थानीय प्रशासन र प्रहरीलाई समन्वय गर्न भनिएको छ ।
सर्वसाधारणको दैनिकीलाई सहज र उपभोग्य सामाग्रीको आपूर्ति व्यवस्था गर्न मालवाहक सवारी साधनको सञ्चालनमा समस्या देखिएकाले यात्रु बोक्न नपाउने गरी आवश्यक खाद्य सामाग्री ढुवानी कार्यमा सहजीकरण र सुरक्षा प्रदान गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

दैनिक उपभोग्य बस्तु ढुवानीका सवारी नरोक्नु
औषधी, खाद्यवस्तु, पानी, दुध, फलफूल, तरकारी, पशुपंक्षी, माछाको दाना र कुखुरा जन्य वस्तु ढुवानी गर्ने र फर्किने सवारी साधनलाई सञ्चालन हुन दिने निर्णय गरिएको प्रवक्ता शर्माले बताउनुभयो । त्यस्ता सवारी साधनमा मानिस भने बोक्न पाइने छैन ।
कँहीकतै कुनै अफ्ठयारो परेमा वा आवश्यक गुनासो, उजुरी, सुझाव र सल्लाहका लागि टोल फ्रि नम्वर ११४९ मा सम्पर्क गर्न आग्रह गरेको छ । लक डाउन अवधिभर जो जहाँ हुनुहुन्छ सोही अवस्थामा बसिदिन मन्त्रालयले सर्वसाधारणमा अनुरोध गरेको छ ।

सर्वसाधारणको सहयोग सह्रानीय
कोरोना संक्रमण विरुद्धको अभियान ‘लक डाउन’ सफल पार्न आमनागरिकको सहयोग सह्रानीय रहेको छ । मन्त्रालयका अनुसार, सरकारले लक डाउन शुरु गरेको चांैथो दिन पनि सर्वसाधारण नागरिकले धैर्य र शान्तपूर्वक सफल पारिदिएकोमा धन्यवाद दिएको छ ।
कोरोना महामारी नियन्त्रणको उयपुक्त विकल्प लक डाउन नै भएकाले देशलाई मानवीय क्षति हुनबाट जोगाउन यस्तो निर्णय गर्नु परेको जनाएको छ । यस्तो कठिन परिस्थतिमा पनि आमनेपाली नागरिक आ–आफ्नै स्थानमा बसेर स्वास्थ्य सतर्कता अपनाउँदा कोरोनाको जोखिमबाट सहजै बच्न सकिने मन्त्रालयले जनाएको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments