Sat. Oct 19th, 2024

बेलायतका १७ वर्षीय माक रुथरफोर्ड एक्लै विश्व परिक्रमा गर्ने सबैभन्दा कान्छा पाइलट

काठमाण्डौं, २०७९ भदौं ९ गते बिहीबार । लामो कपाल अनि हँसिलो मुहारका बेलायती किशोर माक रुथरफोर्ड विश्व एक्लै परिक्रमा गर्ने सबैभन्दा कान्छा पाइलट बन्नु भएको छ । १७ वर्षीय माक रुथरफोर्ड सानो हवाईजहाजमा एक्लै विश्व परिक्रमा गर्ने सबैभन्दा कान्छा पाइलट बन्न सफल हुनुभएको हो । ५ महिनामा ५२ देशको यात्रा पुरा गर्दै माक रुथरफोर्डले बुल्गेरियाको सोफियामा अवतरण गर्नुभएको हो ।

फोटो : खालिज टाईम्स

बेलायती आमाबुबाबाट जन्मेर बेल्जियममा हुर्किनु भएका रुथरफोर्डले हवाई यात्राका क्रममा सुडानमा बालुवाको आँधीबेहरी बेहोर्नुका साथै एक रात प्रशान्त महासागरस्थित मानवविहीन टापुमा रात समेत बिताउनु भएको थियो । रुथरफोर्डकी जेठी दिदी जारा हवाईजहाजमा विश्व परिक्रमा गर्ने सबैभन्दा कम उमेरकी महिला हुनुहुन्छ । जाराले गत जनवरीमा आफ्नो यात्रा पूरा गर्नुभएको थियो । जाराले भाइलाई यात्राको बाटोको बारेमा जानकारी दिएको बताउनु भयो । जारा रुथरफोर्डले यात्रा सुरु र अन्त्य गरेको सोफियामा उपस्थित हुनुहुन्थ्यो ।

यसअघि सबैभन्दा कम उमेरमा हवाईजहाजमा विश्व परिक्रमा गर्ने ब्रिटिश ट्राभिस लुड्लो हुनुहुन्थ्यो जो गत वर्ष यात्रा पूरा गर्दा १८ वर्ष १ सय ५० दिन पुग्नु भएको थियो । यात्रा पूरा गरेपछि रुथरफोर्डले अरूलाई जति उमेर भए पनि आफ्नो सपना पूरा गर्न सल्लाह दिनु भएको छ । “मिहेनत गर्नुहोस् र आफ्नो लक्ष्य प्राप्तिका लागि अगाडि बढ्नुहोस्,” रुथरफोर्डले भन्नुभयो ।

जारा रुथरफोर्ड/ फोटो : खालिज टाईम्स

यात्राको क्रममा रुथरफोर्डले युरोप, एशिया, अफ्रिका, र अमेरिका महादेश पुग्नु भयो भने दुईवटा महासागर पार गर्नुभयो । उहाँले मार्च २३ मा यात्रा सुरु गर्नुभएको थियो । यात्राको क्रममा उहाँले दुबईको प्रचण्ड गर्मी र भारतको आकस्मिक विमानस्थल बन्दको सामना गर्नुपर्‍यो।

रुथरफोर्डले वर्षा र बादलकोबीचबाट जोखिमपूर्ण लामो यात्रा गरेपछि प्रशान्त महासागरको मानवरहित टापुको रनवे छेउको छाप्रोमा रात बिताउनु भएको थियो । उहाँले सीएनएनसँगको अन्तर्वार्तामा केन्याको राष्ट्रिय निकुञ्ज र न्यूयोर्कमाथि यात्रा गर्दा सुन्दर दृश्यहरू देखिएको बताउनु भयो । उहाँको सबैभन्दा लामो उडान ११ घण्टाको थियो। भविष्यको योजनाबारे सोध्दा उहाँले हवाई उडान जारी राख्ने बताउनु भयो ।

रुथरफोर्डले यात्राको क्रममा एक्लै विश्व परिक्रमा गर्ने सबैभन्दा कान्छा पाइलट बन्नु र हलुका विमानमा पृथ्वी घुम्ने सबैभन्दा कान्छा व्यक्ति बन्नु जस्ता दुईवटा विश्व कीर्तिमान तोड्नु भएको छ । उहाँले शार्क नामक अल्ट्रालाइट विमानमा यात्रा गर्नुभएको थियो जसको उच्चतम गति ३०० किलोमिटर प्रतिघण्टाको थियो।

सन् २०२० को सेप्टेम्बरमा उहाँले १५ वर्षको उमेरमा विमान चालक अनुमति पत्र प्राप्त गर्नुभएको थियो । उहाँका पिता साम व्यावसायिक पानीजहाज चालक हुनुहुन्छ भने आमा ब्रिटिश निजी विमानचालिका हुनुहुन्छ । बीबीसी

Facebook Comments