Sat. Oct 19th, 2024

चीनको सछुवान प्रान्तमा खडेरीका कारण पानीको सतह घट्यो, विश्व सम्पदा सूचीमा रहेको लशान बुद्धको वर्षा याममा कहिल्यै नदेखिने खुट्टा पनि देखियो

काठमाण्डौं, २०७९ भदौं ९ गते बिहीबार । चीनको सछुवान प्रान्तमा लामो समयदेखि परेको खडेरीका कारण पानीको सतह निरन्तर घटिरहेको छ ।

चीनको सबैभन्दा ठूलो याङत्से नदीका तीनवटा सहायक नदीहरूमा खडेरीका कारण पानीको स्तर घटेकोले दक्षिणपश्चिम चीनको सछुआन प्रान्तको लशान सहरबाहिर अवस्थित विश्व सम्पदा सूचीमा रहेको लशान विशाल बुद्धको आधार खण्डको दृश्य स्पष्ट देखिन सक्ने भएको छ ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार वर्षा याममा कहिल्यै नदेखिने लसान बु्द्धका दुवै खुट्टा स्पष्ट रुपमा देखिएका छन् । प्राप्त समाचार अनुसार यत्तिवेला नदीमा पानीको सतह घटेर लशान बुद्धका दुवै खुट्टा भन्दा झण्डै २० फिट तह पुगेको छ । विश्वको प्रसिद्ध पर्यटकीयस्थल लशान बुद्धको पारीपट्टी नदीका सुख्खा बगरहरु देखिएका छन् । सछुवानको तापक्रम बढेर ४२ डिग्रिसम्म पुगेको छ ।

मिन्चियाङ, छिङ्यी र तातु नामका तीनवटा नदीहरूलाई हेरेर बसेको जस्तै गरि विशाल पहाड खोपेर निर्माण गरिएको बुद्धको मूर्ति थाङ राजवंशको समयमा सन् ७१३ मा बनाउन सुरु गरिएको थियो । सो विशाल बुद्धको मूर्ति बनाउन ९० वर्ष लगेको थियो ।

चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार च्याङसु, आन्हुई, हेनान, हुपेई, चचियाङ, फुचियान, च्याङ्सी, हुनान, कुईचौ, छोङछिङ, सछुवान, शान्सी, कान्सु र तिब्बतका केही भाग मध्यमदेखि गम्भीर खडेरीबाट प्रभावित भएका छन् ।

फोटो : सिन्ह्वा

Facebook Comments