Sat. Oct 19th, 2024

नयाँबानेश्वरको अल्फाबिटा कम्प्लेसको अवैध संरचनामा महानगरले डोजर चलायो

काठमाण्डौं, २०७९ भदौं ९ गते बिहीबार । नयाँवानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचनालाई काठमाडौं महानगरपालिकाले डोजर प्रयोग गरी भत्काएको छ ।

अवैध संरचनाहरु हटाउने अभियानलाई तीव्र बनाउनु भएका मेयर बालेन शाह बिहीवार विहान वानेश्वर क्षेत्रको अनुगमनमा जाने क्रममा अल्फाबिटामा पुगेर अवैध संरचना हटाउन आग्रह गर्नुभएको थियो ।

अल्फाबिटा भवनको नक्सा देखाउँदै मेयर बालेन शाह । फोटो : बालेन शाहको फेसबुक
तर अल्फाबिटाका प्रतिनिधिले आफ्नो भवनमा कुनै पनि किसिमको अवैधानिक काम नभएको जिकिर गर्दै नक्सा पासबिनाको संरचना नभत्काउने अडान राखेका थिए । मेयर शाहलाई ती प्रतिनिधिले डन नबन्न चेतावनी समेत दिएका थिए । मेयरले घरको नक्सा देखाउन आग्रह गर्दा दिन इन्कार गर्दै  महानगरसँग हुनुपर्ने भन्दै रुखो जवाफ दिएका थिए ।

विवादपछि कार्यालय फर्किनु भएका मेयर शाह उक्त भवनको नक्सा र डोजर लिएर अल्फबिटा पुग्नुभएको थियो । अल्फाबिटाका प्रतिनिधिले आफ्नो गल्ती स्वीकार गर्दै समय मागेका थिए । तर महानगरको टोलीले त्यसलाई सुनेन र अवैध रुपमा हालेको सटर हटाएको छ । त्यहाँ सञ्चालित फर्मेसी खाली गर्न लगाएर महानगरको टोलीले अवैध रुपमा बनाएको संरचनामा जोडर चलाएको छ ।

Facebook Comments