Sat. Oct 19th, 2024

राष्ट्रिय समाचार समितिले श्रव्यदृश्य सेवा सुरु गर्ने

काठमाण्डौं, २०७९ असार ३० गते बिहीबार । राष्ट्रिय समाचार समिति (रासस)ले साउन १ गतेदेखि श्रव्यदृश्य सेवा सुरु गर्ने भएको छ ।

नेपालको सरकारी स्वामित्वको एकमात्र समाचार संस्था रासस केन्द्रीय कार्यालय भद्रकालीमा आज आयोजित ‘राससको श्रव्यदृश्य सेवा सञ्चालन र प्रभावकारिता’विषयक अन्तरक्रिया कार्यक्रममा सो सेवाबारे जानकारी दिईएको हो । अन्तरक्रिया कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले श्रव्यदृश्य सेवामार्फत राससले नयाँ फड्को मार्ने विश्वास व्यक्त गर्नुहुँदै छिटो-छरितो र गुणस्तरीय सेवा प्रवाहका लागि ध्यान दिनुपर्ने बताउनु भयो ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस जनताप्रति उत्तरदायी भएको बताउनुहुँदै नयाँ सेवालाई जनताको सेवा हो भन्ने अनुभूत गराइ सकेसम्म उच्च प्रविधिको सेवा दिने सङ्कल्प गरेको जानकारी दिनुभयो ।

राससका महाप्रबन्धक सिद्धराज राईले राससले सेवालाई विविधिकरण गर्ने क्रममा भिडियो सेवा सञ्चालनको तयारी गरेको र यसमा सेवाग्राहीको सुझाव र सहयोग अपेक्षित रहेको बताउनुभयो । नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बलले राससको भिडियो सेवामा वश्यक सक्दो सहयोग गर्ने बताउनु भयो ।

सो सेवामा प्राविधिक कार्यका लागि रासस र फिल्म क्रिउ नेपाल प्रालिबीच हालै सम्झौता भएको हो । रासस केन्द्रीय कार्यालयमा गत वर्ष नै स्टुडियो निर्माण भइसकेको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले राससको नयाँ सेवाका लागि शुभकामना दिँदै सेवाग्राहीको सम्पादकीय क्षमता वृद्धि गर्ने गरी राससले भिडियो सेवा दिनुपर्नेमा जोड दिँदै राससले सरकारका कुरा र जनताका चाहना दुवैलाई प्रभावकारी रूपमा सम्प्रेषण गर्नुपर्ने धारणा राख्नुभयो ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले भिडियो सामग्री सङ्कलन, सम्पादन, वितरण, बजार प्रवद्र्धन र एजेण्डा सेटिङसम्मको लक्ष्य निर्धारण गरेर राससले उक्त सेवा सञ्चालनलाई प्रभावकारी बनाउन सक्ने बताउनुभयो ।

आमसञ्चारका विज्ञ तपनाथ शुक्लाले राससले यसअघि नै भिडियो सेवा सञ्चालन गर्नुपर्ने भए पनि अब सुरु गर्दा सहरमुखी नभई गाउँ केन्द्रित विषयवस्तु आफ्ना नेटवर्कबाट सङ्कलन गराइ घटना प्रधान र आलेख समाचार दिनुपर्ने सुझाव दिनुभयो ।

सहभागी वक्ताहरूले श्रव्यदृश्य सेवा सञ्चालन गर्दा भिडियो र आवाजको गुणस्तर, छिटो, छरितो, विश्वसनियता, निस्पक्षता र जनताको आवाजलाई सम्बोधन गर्ने विषयमा ध्यानदिनु पर्ने विचार व्यक्त गर्नुभयो ।

साथै उहाँहरुले सामाजिक उत्तरदायित्वसहित पत्रकारितामा विद्यमान अवस्थामा देखिएका विकृतिमाथि नियन्त्रण र सन्तुलन कायम गराउन सक्नुपर्ने सुझाव दिँदै जिम्मेवारीसहित नयाँ र बिकाउ सामग्री उपलब्ध गराउन आग्रह गर्नुभएको थियो ।

सुझाव दिनेमा एशोसिएटेट प्रेस (एपी)का विनाज गुरुवाचार्य, फ्रान्सेली समाचार संस्था (एएफपी)का  पावन माथेमा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकृत तीर्थराज चापागाईँ, नेपाल प्रेस इन्स्टिच्युटका महासचिव लक्ष्मण उप्रेती, टेलिभिजन पत्रकारहरू मनोहरि थापा, महाप्रसाद लामिछाने, जनता टेलिभिजनका टङ्क पन्त, न्यूज-२४ का नवराज चालिसे, रे टेलिभिजनका रमेश हतुवाली, कान्तिपुर टेलिभिजनका दशरथ राई, ग्यालेक्सी फोरकेका नवराज पाण्डे लगायत हुनुहुन्थ्यो ।

Facebook Comments