Fri. Oct 18th, 2024

नेपाली मौलिक परिकार ८४ व्यञ्जनको प्रबर्द्धन गर्न आज विशेष कार्यक्रमको आयोजना गरिने, राष्ट्रपतिद्वारा मौलिक खाद्य उत्पादन र संस्कृतिको प्रबर्द्धनमा जुट्न आह्वान

काठमाण्डौं, २०७९ जेठ २६ गते बिहीबार । नेपाली मौलिक परिकार ८४ व्यञ्जनको प्रबर्द्धन मार्फत पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरिने भएको छ ।

नेपाली ८४ व्यञ्जन प्रा.लि.को सक्रियतामा काठमाडौंको होटल अमुप्रस्तमा आयोजना गरिने सो कार्यक्रमको औपचारिक शुभारम्भ उपराष्ट्रपति नन्द बहादुर पुनले गर्नुहुने कार्यक्रम रहेको छ । रे टेलिभिजन एचडी मिडिया पार्टनर रहेको सो कार्यक्रममा दाल, भात, तरकारी, अचार, माछा, मासु लगायतका ८४ व्यञ्जनको प्रदर्शनी गरिने छ । नेपाली ८४ व्यञ्जन प्रा.लि.का अध्यक्ष तथा नेपाली खाना खोजी अभियानकर्मी सेफ प्रेमलाल घिसिङका अनुसार कार्यक्रममा सहभागीता जनाउनु हुने महानुभावहरुले मौलिक नेपाली खानाको विशेषताको जानकारी र स्वाद लिनुहुनेछ । कार्यक्रमको माध्यमबाट नेपाली खानाको प्रबर्द्धन र आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि जानकारी प्रदान गर्न कार्यक्रमको आयोजना गर्न लागिएको रे टेलिभिजनलाई बताउनु भयो ।

रे टेलिभिजन एचडीका अध्यक्ष प्रकाश बाबु पौडेलले मौलिक नेपाली खानाको परिचय स्वदेश तथा विदेशमा पुर्याउन र ८४ व्यञ्जनको बारेमा विस्तृत जानकारी दिने उद्धेश्यले आयोजना गर्न लागिएको सो कार्यक्रमको विशिष्ट महत्व रहने बताउनु भयो । साथै उहाँले नेपाली मौलिक परिकार ८४ व्यञ्जनको प्रवद्र्धनका लागि आयोजना गरिएको यस कार्यक्रमको रे टेलिभिजन एचडीले आज दिउसो १ वजेदेखि प्रत्यक्ष प्रसारण गर्ने जानकारी समेत दिनुभयो ।

राष्ट्रपति भण्डारीद्वारा नेपाली खाद्य उत्पादन प्रबर्द्धनमा जुट्न आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली मौलिक खाद्य उत्पादन र संस्कृतिको प्रबर्द्धनमा जुट्न सम्बद्ध सबै पक्षसँग आह्वान गर्नुभएको छ ।

विश्व मानव समुदायलाई खाद्य चुनौती बढ्दै गएकोतर्फ चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले स्थानीय उत्पादन वृद्धि गर्ने र त्यसको आधुनिक प्रशोधन र प्रयोगमार्फत खाद्य जोखिम कम गर्न सबै पक्षको उत्तिकै जिम्मेवारी रहने बताउनुभएको हो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा हिजो (बुधबार) नेपाली मौलिक पाककलाको क्षेत्रमा आबद्ध अभियानकर्मी, शैक्षिक सङ्घ संस्थाका प्रतिनिधि, खाद्य विशेषज्ञ र सेफ प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले सरकारले नेपाली मौलिक परिकारको स्थानीय तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनलाई विशेष प्राथमिकतामा राखेको औँल्याउनुभयो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले अहिले युवामा देखिएको पश्चिमा खानपानको संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै नेपाली मौलिक खाद्य पदार्थलाई परिमार्जन र परिष्कृत ढङ्गले प्रयोग गर्न र पस्कने सके त्यसको बजारीकरणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति निवासको आफ्नो भान्सामा समेत विशेषगरी नेपाली मौलिक परिकारनै पाक्ने गरेको भन्दै उहाँले आफू गाउँमा रहँदा किनेमा, कागुनो तथा ताप्लेजुङका खोलानालामा पाइने तितो स्वाद भएका माछा खाएको स्मरण सुनाउनुभयो ।

सरकारले विद्यालयमा बालबालिका लक्षित दिवा खाजाको व्यवस्था गरेको र त्यसमा नेपाली मौलिक उत्पादनलाई भान्सामा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । त्यसमा पनि मैदाबाट बन्ने पिज्जाको सट्टा कोदोको पिठो प्रयोग र मकैका विविध परिकार, दूधका परिकार समावेश गर्न सकिने उहाँले बताउनुभयो ।

नेपालीको चिनारीलाई विश्वमाझ परिचित गर्न नेपाली मौलिक खानाको अहिले विशेष भूमिका रहेको चर्चा गर्दै राष्ट्रपति भण्डारीले यस अभियानमा निरन्तर लागि परेका सम्बद्ध सबै पक्षलाई धन्यवाद र आभार प्रकट गनुभयो ।

त्यस अवसरमा नेपाल भ्रमणमा रहनुभएका भारतको सिक्किम युनिर्भसिटीका प्राध्यापक ज्योतिप्रकाश तामाङले नेपालको हिमालय क्षेत्रमा पाइने हब्र्स र स्पाइसेस वैज्ञानिकरूपमै औषधि जतिकै महत्वपूर्ण रहेको र सरकारले विज्ञहरु सामेल गरी विशेष योजनाबनाएर अन्तर्राष्ट्रिकरण गर्न सकिने बताउनुभयो ।

नेपाल टेलिभिजनका अनुसार कार्यक्रममा होटल एशोसिएशन अफ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले नेपालीको बसोबास रहेका विश्वका ९० भन्दा बढी देशमा मौलिक खानापानलाई प्रबर्द्धन र प्रचार गर्न आफूहरुले नेप्लीज सेफ र होटल व्यवसायीसँग दिगो योजना बनाएर अघि बढ्ने लक्ष्यका साथ छलफल गरिरहेको बताउनुभयो ।

नेपाली मौलिक पाककलाको खोजी, अनुसन्धान र प्रबर्द्धनमा काम गर्दै आएको शैक्षिक संस्था आइएचएम कलेजका सिइओ सुराच प्रसाईंले नेपाली खाद्य उत्पादन, मौलिक परिकार र पाककला संस्कृतिमा नेपाली सेफको विशेष भूमिका रहेको औँल्याउँदै आइएमविथ सेफमार्फत त्यस कार्यलाई निरन्तर जोड दिइँदै आएको बताउनुभयो ।

आज काठमाडौँमा आयोजना हुन गइरहेको नेपाली मौलिक परिकार ८४ व्यञ्जनको पूर्वसन्ध्यामा सोबारे राष्ट्रपतिलाई अवगत गराउन पुगेको प्रतिनिधिमण्डलले उहाँलाई गुन्द्रुक र जिम्बु उपहारस्वरूप हस्तान्तरण गरेको थियो ।

त्यस अवसरमा ८४ व्यञ्जन र १०१ दिने नेपाली खाना खोजी अभियानकर्मी सेफ प्रेमलाल घिसिङले नेपाल भ्रमणमा आउने विदेशी राष्ट्र प्रमुख, सरकार प्रमुख तथा विशिष्ट पाहुनालाई नेपाली ८४ व्यञ्जन तथा नेपाली मौलिक परिकारले स्वागत गर्नुपर्ने र सरकारले समेत त्यसतर्फ विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

Facebook Comments