Fri. Oct 18th, 2024

क्रिकेट पूर्वाधारका लागि ४७ करोड ५० लाख रुपयाँ विनियोजन

काठमाण्डौं, २०७९ जेठ २६ गते बिहीबार । युवा तथा खेलकुद मन्त्रालयले आगामी आर्थिक वर्षमा क्रिकेटका लागि ४७ करोड ५० लाख बजेट विनियोजन गरेको छ । मन्त्रालयले क्रिकेट खेलका ८ वटा पूर्वाधारका लागि ४७ करोड ५० लाख बजेट विनियोजन गरेको हो ।
अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संसदमा प्रस्तुत गर्नु भएको बजेटमा खेलकुदका लागि ३ अर्ब २५ करोड २५ लाख बजेट विनियोजन गर्नु भएको थियो ।
त्यसमध्ये पूर्वाधार निर्माणतर्फ ८७ करोड ६६ लाख रुपैयाँ छुट्याउदाँ क्रिकेट खेलका पूर्वाधारले ४७ करोड ५० लाख पाएका हुन् ।

मन्त्रालयले सबै भन्दा बढीचितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि विनियोजन गरेको छ । धुर्मुस–सुन्तली फाउण्डेसनले जनस्तरबाट आर्थिक संकलन गरि काम सुरु गरेर बीचमै छाडेको यो रंगशाला निर्माणका लागि २२ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

आर्थिक अभावका कारण कारण बिचमै काम छोड्नु अघि धुर्मुस–सुन्तली फाउण्डेसनले रंगशालामा १४ प्रतिशत काम सम्पन्न गरिसकेको छ । ३ अर्ब अनुमानित बजेट रहेको यो रंगशालाको बाँकी काम प्रदेश र स्थानीय तहको लगानीमा संघीय सरकारले समन्वय गर्ने गरी सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

यस्तै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा रातीको समयमा पनि क्रिकेट खेल्न योग्य बनाउनका लागि फ्लडलाइट जडान गर्न १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षदेखि निर्माण सुरु हुन लागेको सुदुर पश्चिम प्रदेश सरकारको गनैरवको योजना समेत रहेको धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम निर्माणका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस्तै सरकारले यो आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको मूलपानी (तल्लो) क्रिकेट मैदानका लागि ७ करोड रुपैयाँ विनियोजन गरिएको छ । १९ वर्षअघि निर्माण सुरु भएको यो मैदानका लागि अहिलेसम्म ३४ करोड रुपैयाँ खर्च भइसकेको छ ।

बाँकेको कोहलपुरमा राष्ट्रिय महिला क्रिकेट एकेडेमीसहित रंगशाला निर्माण गर्ने सरकारी योजनाका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ । भैरहवा अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि डेढ करोड र पोखरा क्रिकेट रंगशाला निर्माणका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

महेन्द्रनगर क्रिकेट रंगशालाको मैदान र पीच तथा चेञ्जिङ रुमलगायत निर्माणाधीन मैदान आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने गरी ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

Facebook Comments