Fri. Oct 18th, 2024

मोफसलका विद्यार्थीलाई निःशुल्क इन्डक्सन चुल्हो अनेरास्ववियूको उपलब्धि

काठमाण्डौं, २०७८ फागुन १८ गते बुधबार । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थीहरुको सगठन अनेरास्ववियूले उर्जामन्त्रीलाई माग गरेको विद्यार्थीहरुलाई निशुल्क विद्युतीय (इन्डक्सन) चुल्हो वितरणको माग पुरा हुने भएको छ । उर्जा मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विभिन्न परियोजनामा भएको टेन्डरपछि बचत भएको बजेटलाई उपयोग गर्ने गरी यस्तो योजना ल्याएको हो ।

अहिलेलाई काठमाडौंमा भाडामा बसेर स्नातक र स्नातकोत्तर अध्ययन गरिरहेका उपत्यकाबाहिरका विद्यार्थीलाई निःशुल्क विद्युतीय (इन्डक्सन) चुल्हो वितरण गर्ने भएको हो ।

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको निर्देशनअनुसार केन्द्रले सरकारी तथा सामुदायिक क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीहरुबाट आवेदन माग गरेको छ । केन्द्रका जैविक ऊर्जा शााखाका वरिष्ठ अधिकृत कुन्दन पोखरेल मजगैयाँका अनुसार आवेदनको संख्या हेरेर विद्युतीय चुल्हो किनेर वितरण गरिने छ ।

‘धेरै आवेदन पर्‍यो भने दुर्गम तथा अतिदुर्गम क्षेत्रबाट काठमाडौं आएर बसेका विद्यार्थीलाई प्राथमिकतामा राख्छौं,’ उहाँले भन्नुभयो,’हामीसँग उपलब्ध बजेट र विद्यार्थीहरुको माग संख्यालाई हेरेर चुल्हो खरिद हुन्छ ।’

मजगैयाँका अनुसार खाना पकाउने एलपी ग्यासमा भइरहेको मूल्यवृद्धिले मारमा परेका विद्यार्थीलाई सहज बनाउन यस्तो कदम चालिएको हो । यसले विदेशबाट आयात हुने पेट्रोलियम इन्धन कम भएर देशमा उत्पादित स्वच्छ ऊर्जाको खपत बढ्ने उहाँले बताउनु भयो ।

‘विद्यार्थीलाई पनि राहत हुने र स्वच्छ ऊर्जाको खपत पनि बढ्ने गरी विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्न आवेदन मागेका हौ।,’ मजगैयाँले भन्नुभयो,’काठमाडौं बाहिरबाट आएर विश्वविद्यालयस्तरमा अध्ययन गरिरहेका विद्यार्थीले आवेदन दिन सक्नेछन् ।

केहि दिन अघि अनेरास्ववियूले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालसमक्ष विद्यार्थीहरुलाई निशुल्क विद्युतीय ९इन्डक्सन० चुल्हो वितरण गर्नुपर्ने माग सहित ज्ञापन पत्र वुझाएको स्मरण गर्दै अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले गरेको निर्णय आफ्नो संगठनको आंशिक उपलव्धि भएको बताउनु भयो ।

Facebook Comments