Sat. Oct 19th, 2024

गृहमन्त्री खाँण र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

काठमाण्डौं, २०७८ मंसिर ३ गते शुक्रबार । गृहमन्त्री बालकृष्ण खाँण र अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लुबीच आज शिष्टाचार भेटघाट भएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकी सम्बन्ध र विविध साझेदारीका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा कोभिड-१९ महामारीमा भएको सहकार्य, नेपालको विकासका प्राथमिकता, नेपालको सामाजिक तथा आर्थिक विकासमा अमेरिकाले पुर्याएको सहयोगलगायत विषयमा छलफल भएको थियो ।

भेटमा सहायक विदेशमन्त्री लुको साथमा नेपालका लागि अमेरिकी राजदूत -याण्डी बेरी सहभागी हुनुहुन्थ्यो । त्यस्तै भेटमा नेपालको अर्थतन्त्रमा जलवायु परिवर्तनले पारेको असर र समाधानका लागि गर्नुपर्ने कामबारे पनि छलफल भएको थियो ।

भेटमा गृहमन्त्री खाँणले नेपालको कोभिड विरुद्धको लडाईँमा सहयोग उपलब्ध गराएकोमा अमेरिकालाई धन्यवाद दिनुभएको थियो । उहाँले अमेरिकी सरकारले कोभिडपश्चात अर्थतन्त्रको पुनउत्थानमा पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल भ्रमण गरेकोमा सहायक विदेशमन्त्री लुलाई धन्यवाद दिँदै गृहमन्त्री खाँणले यो भ्रमणले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई नयाँ उचाइमा पु-याउने विश्वास व्यक्त गर्नुभयो । गोरखापत्र अनलाईन

Facebook Comments