Wed. Sep 25th, 2024

एमालेको प्रथम विधान महाधिवेशनको सबै तयारी सकियो

काठमाडौं, २०७८ असोज १४ गते बिहीबार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पार्टी जीवनमा पहिलो पटक विधान महाधिवेशनको तयारी पूरा गरेको छ । तीन दिनसम्म चल्ने महाधिवेशनले पार्टीको मार्गनिर्देशक सिद्धान्तको बारेमा टुङ्गो लगाउने सो दलले जनाएको छ ।

बिहीबार पत्रकार सम्मेलनमार्फत एमालेले विधान महाधिवेशनको सबै तयारी पूरा भएको जानकारी दिंदै ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भोलि शुक्रबारदेखि आइतबारसम्म हुने कार्यक्रममा करिब सात हजार प्रतिनिधिको सहभागिता रहने औपचारिक जानकारी गराएको हो ।

एमाले स्थायी कमिटी सदस्य तथा विधान महाधिवेशन व्यवस्थापन समितिका संयोेजक रामबहादुर थापा ‘बादल’ ले महाधिवेशनमा पार्टीको विचार, नीति तथा सैद्धान्तिक आधार तयार हुने बताउनुभयो । अहिलेसम्म एमालेले जनताको बहुलदीय जनवादलाई मार्ग निर्देशक सिद्धान्तको रुपमा स्वीकारेको छ । जवजलाई अहिलेको आवश्यकताअनुसार परिमार्जनको बहस शुरु भएकाले महाधिवेशनले त्यसबारेमा ठोस रुपले टुङ्गो लगाउने नेता थापाले बताउनुभयो ।

यद्यपि उपमहासचिव विष्णुप्रसाद पौडेलद्वारा तयार गरिएको विधान मस्यौदा प्रतिवेदनमा जबजलाई नै मार्गदर्शक सिद्धान्त मानेर अगाडि बढ्ने प्रस्ताव गरिएको भए पनि त्यसमा थप बहस गरेर अगाडि बढ्न सकिने स्थायी कमिटी सदस्य थापाले बताउनुभयो ।

प्रस्तावित विधान मस्यौदाले ७० वर्ष उमेरहद तोक्ने र दुई पटक पार्टीको कार्यकारी नेतृत्वमा रहने प्रस्ताव गरेकाले त्यसमा पनि थप छलफल गरी अगाडि बढिने उहाँले बताउनुभयो । कार्यक्रममा पार्टी र पार्टीमा संलग्न निर्वाचित प्रतिनिधि, पदेन सदस्य र मनोनित गरिएका प्रतिनिधिहरुको सहभागिता रहने बताउनुहुँदै उहाँले महिला र दलित समुदायको सहभागिता गरी समावेशी चरित्रको बनाइएको बताउनुभयो ।

महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन मस्यौदा प्रतिवेदन प्रस्तुत गर्नुहुने र त्यसमा समूहगत छलफल भई निर्णयमा पुग्ने तयारी भएको नेता खिमलाल भट्टराईले जानकारी दिनुभयो । उहाँकाअ नुसार सम्मेलन केन्द्रमा सात हजार जना अट्ने क्षमताको हल तयार गरिएको छ । गोरखापत्र अनलाईन

Facebook Comments