Sun. Jan 12th, 2025

झापामा हात्तीको आक्रमणमा परी एकजना महिलाको ज्यान गयो

काठमाडौं, २०७८ असोज १४ गते बिहीबार । झापाको चारआलीमा हात्तिको आक्रमणमा परी एकजना महिलाको ज्यान गएको छ । जंगलमा तरकारीका लागि निगुरो टिप्न गएकी एक महिलाको भद्रपुर नगरपालिका १० मा पर्ने चारआली जंगलमा मृत्यु भएको हो ।

बिर्तामोड नगरपालिका ८ बस्ने ५० वर्षीय लतुमाई मर्डीको बिहीबार विहान निगुरो टिप्न जाँदा जंगली हात्तीले सुँढले चेपेर चन्द्रगढी सामुदायिक वन समुहतर्फ लगेर गएको मृतकका श्रीमान सुकलाल मर्डीले बताउनुभयो । गोरखापत्र अनलाईनका अनुसार मर्डीले श्रीमतीलाई हात्तीले सुढले चेपेर जंगलमा लगेको प्रहरीलाई खबर गरेपछि सेना र प्रहरीको ६० जनाको टोली र स्थानीयले उहाँको खोजी गर्दा दिउँसो ४ बजे स्थानीय सेती खोलाको पैनीमा मृत अवस्थामा मर्डी फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले बताउनुभयो । हात्तीले लखेटेपछि श्रीमान सुकलाल भने भागेर ज्यान बचाउन सफल हुनुभएको थियो ।

उहाँले गाउँमा आई होहल्ला गरेपछि सेना प्रहरी र स्थानीय मर्डीको खोजीमा जंगलमा पसेका थिए । मर्डी दम्पत्ती लामो समयदेखि चारआली जंगलमा निगुरो खोजेर विक्री गरी आफ्नो जीविका चलाउँदै आएका थिए ।

Facebook Comments