Tue. Sep 24th, 2024

निर्वाचन आयोगद्वारा नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई मान्यता प्रदान

काठमाण्डौं, २०७८ भदौं ९ गते बुधबार । वरिष्ठ वामपन्थी नेता माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएका छन् । दुवै दललाई निर्वाचन आयोगले आज बेलुका दर्ता भएको प्रमाणपत्र दिएको हो । प्रमाणपत्र प्राप्त गरेसंगै दुवै दलले औपचारिक मान्यता पाएका छन् ।

सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशमा रहेर माधव कुमार नेपाल र महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि निवेदन दिनु भएको थियो । अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या पुर्‍याए दल विभाजन गर्न सकिने व्यवस्था छ ।

आजै नै निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि दिएको निवेदनमा नेताहरूलाई सनाखतका लागि बोलाएको थियो ।

नेकपा एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी गठनका लागि केन्द्रीय कमिटीका ५५ जनाले सनाखत गरेका थिए । यो कुल सदस्य सङ्ख्याको २७ प्रतिशत हो । तर माधव कुमार नेपाल पक्षले एक सांसद अपुग हुँदा सङ्घीय संसदमा २० प्रतिशत भने पुर्‍याउन सकेन । दल दर्ताका लागि एमालेको एक सय ५४ सदस्यीय संसदीय दलका ३० जनाले मात्र सनाखत गरे । यो कुल सङ्ख्याको १९ दशमलव ४८ प्रतिशत हो ।

यस्तै राष्ट्रिय सभाका तीन र प्रतिनिधि सभाका ३४ गरी ३७ सांसदमध्ये १५ जनाले सनाखत गरेका छन् । यो कुल सदस्य सङ्ख्याको ४० प्रतिशत हो ।

Facebook Comments