Tue. Sep 24th, 2024

एमाले स्थायी कमिटीको भोलिको बैठकमा एकता पक्षधरहरु सहभागी हुने

काठमाण्डौं, २०७८ भदौं ७ गते सोमबार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटामा एमालेभित्र एकताको पक्षमा उभिएका तेस्रो धारका नेतासंगको आज सम्पन्न बैठकले पार्टी एकताको लागि दशबुँदे सहमतिपत्र कार्यान्वयनमा जोड दिने निर्णय गरेको छ । बैठकको सुरुवातमा पछिल्लो समय राष्ट्रिय राजनीतिमा उत्पन्न भइरहेका विषयमा अध्यक्ष ओेलीले धारणा व्यक्त गर्नुहुँदै पार्टी र मुलुकलाई सुदृढ एवम् गतिशील बनाउन पार्टी एकतालाई जोड दिनुभएको एमाले पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताउनुभएको छ ।

यस विषयमा भोलि  स्थायी कमिटीको बैठक बस्ने उहाँले बताउनुभएको हो । मङ्गलबार ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा सो बस्ने स्थायी कमिटी बैठकमा विगतमा अनुपस्थित हुँदै आउनुभएको स्थायी कसमटी सदस्यहरु पनि सहभागी हुने ज्ञवालीले जानकारी दिनुभएको छ ।

एकता पक्षधरले २०७५ जेठ २ गतेलाई पार्टी एकताको बटमलाइन बताउँदै आएको अवस्थामा एमाले संस्थापन पक्षले जेठ २ मा फर्किसकेको र आगामी दिनमा यसको व्यवहारिक कार्यान्वयनलाई पनि जोड दिने जनाइएको छ ।समग्रमा पार्टी सुदृढीकरण एवम् एकताको विषयमा छलफल केन्द्रित रहेको ज्ञवालीले बताउनुभयो ।

Facebook Comments